• १५ फागुन २०८१, बिहिबार

तनहुँमा राष्ट्रिय मगर एकता दिवसको रौनक

blog

मगर एकता दिवसको अवसरमा निकालिएको र्‍याली । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन १५ गते ।
मगर समुदायले बिहीबार ‘‘मगर इतिहास, भाषा, संस्कृति, संरक्षण–संवर्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासनसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र’’ देशैभर ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायको बाहुल्यता रहेको तनहुँको  दस वटै स्थानीय तहमा आज सांस्कृतिक झाँकी प्रदर्शनसहितका कार्यक्रम जारी छ ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर नेपाल मगर सङ्घकाे स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ  । २०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लाङघाली परिवार सङ्घको पहिलो महाधिवेशन भएको दिनलाई मगर स्थापना दिवसको रूपमा मनाउन थालिएको हो । मगर समुदायले हरेक वर्ष फागुन १५ गते नेपाल मगर सङ्घ र मगरसँग सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् । मगरहरुको साङ्गठनिक रूपले गोलबन्द भएको दिनको रूपमा विश्वभरमा साङ्गठनिक पर्वको रूपमा मगर बस्तीबस्तीमा मनाउने गरिन्छ ।


मगर जातिको बाहुल्यता रहेको तनहुँमा दिवसको अवसर पारेर सबै पालिका मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू भइरहेको नेपाल मगर सङ्घ तनहुँको अध्यक्ष खड्गसिंह थापा मगरले  बताउनुभयो । थापामगर अनुसार तनहुँमा एक लाख सात हजार मगर समुदायको जनसङ्ख्या छ । जुन कुल जनसङ्ख्याको २६ प्रतिशत हो ।  जिल्लाको सबै पालिकामा नेपाल मगर सङ्घको पालिका स्तरको समितिले पालिकाहरू सँगको सहकार्यमा कार्यक्रम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

दिवसको उपलक्ष्यमा तनहुँको सदरमुकाम दमौलीको अनचौतारीमा भेषभूषासहित मगर समुदायमा प्रचलित कौरा, झ्याउरेलगायतका विभिन्न झाँकी प्रस्तुत गरिएको छ । झाँकी तथा र्‍यालीले दमौली बजारको परिक्रममा गरिरहेको छ । नेपाल मगर सङ्घ तनहुँको आयोजना र नेपाल मगर सङ्घ व्यास नगर समितिको सहआयोजना दमौलीको खु्ला चौरमा मगर एकता दिवस विशेष कार्यक्रम विविध सांस्कृतिक कार्यक्रम चलिरहेको छ ।


मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यका दिवस विशेष कार्यक्रमलाई निरन्तरता दिँदै कार्यक्रम गरिएको नेपाल मगर सङ्घ व्यास नगर समितिको सभापति रिमा आले मगरले जानकारी दिनुभयो ।

दिवसको अवसरमा तनहुँका दस वटै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । तनहुँको पुरानो सदरमुकाम बन्दीपुर बजारमा दिवसको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रममा भइरहेको छ । पर्यटकलाई मनोरञ्जन तथा ज्ञान प्रदान होस् भनेर कार्यक्रम गरिएको नेपाल मगर सङ्घ तनहुँका पूर्व अध्यक्ष सिद्धान्त गर्जामगरले बताउनुभयो । सांस्कृति कार्यक्रमलाई स्वदेशी तथा विदेशी दुवै पर्यटक रुची रूपमा हेरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।