गुणबहादुर रोका
सुलीकोट, फागुन १५ गते । गोरखाको गण्डकी गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्र योग्यता पुगेका सिमान्तकृत तथा दलित युवाहरूलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पुर्याउने उद्धेश्यले निःशुल्क लोकसेवा आयोगको अनलाइन तथा भौतिक तयारी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिका भित्र स्थायी रूपमा बसोवास गरिरहेका तथा योग्यता पुगेका इच्छुक सिमान्तकृत तथा दलित युवाहरूलाई यहि फागुन २० गते भित्र पालिकाको कार्यालयमा पुगेर वा पालिकाको इमेल ठेगानामा आवेदन दिन सक्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ मा कार्यक्रम बनाएर लोकसेवा आयोगको अनलाइन कक्षा सञ्चालनको लागि बजेट विनियोजन समेत गरिसकेको प्रमुख प्रशासककिय अधिकृत चापागाईंको भनाइ छ । लोकसेवा आयोगमा तयारी कक्षामा सहभागी हुन कम्तीमा एसएलसी वा एसइई उर्तीण गरेको हुनुपर्ने छ भने पुरुषको हकमा १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेकाले लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ।
त्यस्तैगरी सिमान्तकृत तथा दलित युवाहरूलाई लोक सेवा पढ्नको लागि धेरै रकम खर्च गरेर बाहिर जानु पर्ने अवस्थालाई अन्त्य गर्न गाउँपालिकाले आर्थिक वर्षबाट बजेट विनियोजन गरी निःशुल्क लोकसेवा तयारी कक्ष सञ्चालन तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।