बेनी समाचारदाता
म्याग्दी (बेनी), फागुन १५ गते । रघुगङ्गा गाउँपालिकामा निर्माण हुने बृहत् चिमखोला–राँखु–भगवती–पिप्ले खानेपानी आयोजना कार्यान्वयन हुने भएको छ । सङ्घीय सरकारले बजेटको स्रोत सुनिश्चित गरेसँगै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । आयोजना अगाडि बढ्ने भएपछि बर्सौंदेखि खानेपानी समस्या भोगेका यस क्षेत्रका उपभोक्तामा आशा पलाएको छ । रघुगङ्गा–७ को चिमखोला, ३ को पिप्ले र २ को भगवतीका दुई हजार सात सयभन्दा बढी घरपरिवारमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सात वर्षअघि ४७ करोड रुपियाँ लागत अनुमान गरेर उक्त आयोजना ल्याइएको थियो ।
बजेट अभाव र ठेक्का लगाउन अर्थ मन्त्रालयको स्वीकृति नपाएका कारण आयोजना अगाडि बढ्न सकेको थिएन । चालु आर्थिक वर्षमा योजना कार्यान्वयनमा लैजान सङ्घीय सरकारले स्रोत सुनिश्चित गरेपछि कार्यान्वयन प्रक्रिया अघि बढेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय म्याग्दीले जनाएको छ ।
ठेक्कामार्फत आयोजना कार्यान्वयन गर्न चालु आवमा ५० लाख रुपियाँ बजेट विनियोजन भएको खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले १० करोड रुपियाँको स्रोत सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाउन सहमति दिएको आयोजना कार्यालय म्याग्दीका इन्जिनियर नवीन सुवेदीले बताउनुभयो ।
चार वटा प्याकेजमा विभाजन गरेर १० करोड रुपियाँ बराबरको काम गर्न ठेक्का आह्वानका लागि प्रक्रिया अगाडि बढाइएको कार्यालयका इन्जिनियर सुवेदीले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–७, चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङ्कीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइपलाइन रहने प्रस्ताव गरिएको छ । आयोजनाबाट चिमखोलाका करिब तीन सय घरपरिवारमा खानेपानी सुविधा पुग्ने वडा नम्बर ७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो ।
सङ्घीय सरकारको ९० र उपभोक्ताको १० प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण गरिने भएको छ । उपभोक्ताका तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने १० लाख रुपियाँ गाउँपालिकाले उपभोक्ता समितिको खातामा जम्मा गरिसकेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । निरन्तरको प्रयासबाट खानेपानी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले अहिलेलाई १० करोड रुपियाँको स्रोत सुनिश्चित गरेर ठेक्का लगाउने तयारी भएको छ । ठुलो आयोजना भएकाले सम्पन्न गर्न समय लागे पनि रघुगङ्गावासीको सपना पूरा होला भन्ने आशा जागेको छ ।” योजना कार्यान्वयनको चरणमा प्रवेश गरेपछि घर घरमा पानी आउने आशा पलाएको पालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।