• १४ फागुन २०८१, बुधबार

निकुञ्ज क्षेत्रबाहिर एक हजार ८६३ जलपन्छी

blog

तालमा चर्दै जलपन्छी । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १४ गते । कञ्चनपुरमा संरक्षित क्षेत्रबाहिर विभिन्न प्रजातिका एक हजार ८६३ जलपन्छीको अभिलेख भएको छ । यसवर्ष हिउँदमा गणना गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेका सिमसार क्षेत्रमा सो संख्यामा जलपन्छी भेटिएका हुन् । गत जनवरीमा जलपन्छीको गणना गरिएको थियो । 

बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालमा ७६३ जलपन्छी अभिलेख गरिएको छ । यस्तै, सोही पालिकाको वडा ७ मा रहेको नकैया सिमसार क्षेत्रमा ६१ वटा जलपन्छी अभिलेख गरिएको छ । नकैया क्षेत्रमा यसैवर्ष सारस पनि देखिएका थिए । 

बेलौरी नगरपालिका –१, २ र ३ मा पर्ने बन्दा तालमा ४२० वटा जलपन्छी भेटिएको जनाइएको छ । त्यस्तै, बेलडाँडी गाउँपालिकामा रहेको रतनपुर फार्म ल्याण्ड क्षेत्रमा विभिन्न प्रजातिका ४८० वटा जलपन्छी अभिलेख भएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । 

जाडो छल्न उत्तरी ध्रुवबाट यहाँका सिमसारमा विभिन्न प्रजातिका पाहुना जलपन्छी पुगेको बेला हरेक वर्ष जलपन्छीको गणना गर्ने गरिन्छ । विगतको तुलनामा जलपन्छी घटेको पाइएको डङ्गौराले बताउनुभयो । चराको प्राकृतिक वासस्थानको विनाश र मानवीय हस्तक्षेपका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ ।