• १४ फागुन २०८१, बुधबार

अग्लो ठाउँमा रहेको विद्यालय

blog

डोल्पाको छार्काभोटमा रहेको छार्काभोट प्राथमिक विद्यालय सबैभन्दा उच्च स्थानमा रहेको विद्यालय हो । डोल्पाको सदरमुकाम दुनै बजारबाट छ दिनको पैदलयात्रापछि म यस विद्यालयमा पुगेको थिएँ ।दुनै बजारबाट म र अर्का एक साथीले बिहान ५:३० बजे यात्रा थाल्यौँ । धारापानी लावन हुँदै बेलुकी खानी गाउँमा पुगेर पहिलो दिनको बास बस्यौँ । दोस्रो दिन छार्का भोट गाउँपालिकाको केन्द्र रहेको कागकोट भन्ने गाउँमा पुग्यौँ । रात त्यतै बितायौँ । पहराको तल ओडार जस्तो स्थानमा कागकोट रहेको छ । यहाँको बस्ती बाक्लो छ ।  प्रायः घर जोडिएका छन् । कागकोटमा तेन्जिङ नोर्गे प्राथमिक विद्यालय रहेको छ । 

तेस्रो दिन दिनभर हिँडेपछि पिमरी गाउँमा पुग्यौँ । बाटामा पर्ने गरगरे पहिरो छिचोल्न निकै कठिन भयो । जुत्ता र पाइन्ट झोलामा हालेर शरीरका अन्य लुगा माथि तान्दै भेरी नदी तर्‍यौँ । हिउँ पग्लेर बनेको भेरी नदीको पानी निकै चिसो हुने रहेछ । पिमरी गाउँमा डरुखबिरुवा देख्न नपाइने रहेछ । पिमरीबाट भोलिपल्ट बिहान यात्रा थाल्यौँ । दिनभर हिँडेपछि घर्याङ गाउँ पुग्यौँ । त्यहाँको विद्यालयको अवस्था राम्रो थियो । घर्याङबाट सबेरै हिँड्यौँ र बेलुकी ढाडगाउँमा पुग्यौँ । दिन भर हिँड्दा बाटोमा एक जना पनि मान्छे भेटिएनन् । ठुलठुला खर्क र पाखा सुनसान थिए । कतै कतै हिमाली डाँफे एकोहोरो कराएको सुनिन्थ्यो । कतै कतै पाखोमा जङ्गली खरायो दौडेको पनि देखिन्थ्यो । हिँड्दा हिँड्दा शरीर थाकेर लखतरान पर्दथ्यो । 

ढाडगाउँबाट दिन भर हिँडेर हामी छार्का भोट पुग्यौँ । छार्का भोट पुग्न भेरी नदीको किनारमा रहेको पहरोको बिचमा झन्डै ५० मिटरको गुफाको बाटो यात्रा गर्नु परेको थियो । त्यो गुफाबाट नहिँडेर अर्को बाटो हिँडेमा छार्का पुग्न सकिँदैन थियो । छार्का पुगेर हामी विद्यालयमै बास बस्यौँ । छार्का निकै रमाइलो लाग्यो । 

सामान्य ज्ञानका पुस्तकमा नेपालको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती धो भनी उल्लेख गरिएको पाइन्छ । धो गाउँको उचाइ समुद्री सतहदेखि चार हजार दुई सयज्ञ मिटर उल्लेख छ । छार्काभोटको उचाइ चार हजार तीन सय मिटर रहेको थाहा पायौँ । त्यसैले उच्च स्थानमा रहेको मानव बस्ती छार्काभोट हो  । छार्का गाउँभन्दा अझै माथि रहेको छार्काभोट प्राथमिक विद्यालय सबैभन्दा उच्च स्थानमा रहेको विद्यालय हो । यो छार्का ताङसोङ गाउँपालिकामा पर्दछ । 

छार्काभोटमा बास बस्दा लेक लाग्ला कि भनेर मनमा डर पनि लागेको थियो । पहिलो पटक उचाइमा जाँदा लेक लाग्न सक्छ । म जीवनमा पहिलो पटक चार हजार तीन सय मिटर उचाइमा बास बस्दै थिएँ । लेख लागिहाल्यो भने हतार हतारमा कम उचाइतर्फ हिँड्नु पर्छ । हिँड्न नसक्ने अवस्था भएकालाई अरूको सहयोगमा छिटै नै कम उचाइ भएको ठाउँमा झार्नु पर्छ । जाडोबाट जोगिन दुई/तीन वटा सिरक खापेर सुतेको थिएँ । ती सिरकको तौलले मलाई थिचेको थियो । 

भोलिपल्ट हामीले खाना खाएर विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीलाई भेट्यौँ । उहाँहरूसँग विद्यालयको अवस्था र विद्यालयले भोग्नु परेका समस्याका बारेमा छलफल गर्‍यौँ । भोट क्षेत्रका विद्यालयमा ठुलो समस्या भनेको छ महिनाभन्दा बढी समयसम्म विद्यालय खुल्दैनन् । जाडो मौसममा हिउँ परेर निकै चिसो हुने हुनाले भोटका विद्यालय छ महिना खुल्ने र छ महिना बन्द हुने रहेछन् ।

निकै लामो बाटो हिँडेर जानुपर्ने हुनाले अरू ठाउँका शिक्षक त्यहाँ बस्न र पढाउन जान मान्दैनन् । पढाउन गएका शिक्षक पनि चिसो र खानाको समस्याले गर्दा छ महिनाभन्दा बढी समयसम्म बस्न नसक्ने हुन्छन् । मुकोट र पिमरीमा रहेका विद्यालयमा शिक्षक नबसेकाले बालबालिकाले पढ्नै नपाएको थाहा पाएका थियौँ । उच्च स्थानमा रहेको छार्काभोट प्राथमिक विद्यालयमा भने पढाइ भइरहेको थियो । हामीले त्यस विद्यालयमा लामो समय बसेर पठनपाठन गरिरहेका कास्कीको पोखरा घर भएका शिक्षकलाई धन्यवाद दिएका थियौँ । 

विद्यालयमा छलफलपछि हामी गाउँ घुम्न निस्कियौँ । छार्काको पुरानो गाउँ पर्खालले घेरिएको गोलाकारमा रहेको थियो । विद्यालय रहेको क्षेत्र र बाक्लो गाउँबिचमा खोला रहेको छ । त्यहाँ फलामे पुल बनेको हुनाले विद्यार्थीलाई आउजाउ गर्न सजिलो भएको छ । 

हामी त्यहाँबाट धो र तिन्जे गाउँतर्फ लाग्यौँ । त्यता जान हिँउमा हिँड्नु पथ्र्याे । हिउँमा हिँड्दा कतिपय स्थानमा लर्केर तल खसिने र कतिपय स्थानमा भासिने डर हुन्थ्यो । छार्काबाट धो पुग्दा बिचमा बस्ती थिएन । जसरी पनि धो पुग्नै पर्ने थियो । हाम्रो यात्रा निकै जोखिमपूर्ण थियो । बाटो नभेटिएर अलमलमा परे सोध्न मान्छे पाइँदैन थिए । हामी छार्काबाट हिँडेको दिन धो गाउँ नपुग्दै रात परेको हुनाले ओरालो झरिसके पछि तराप भन्ने स्थानमा एक घण्टा अँध्यारोमा यात्रा गर्नु पर्‍यो । धो गाउँ डोल्पोबुद्ध गाउँपालिकामा पर्दछ । डोल्पोबुद्ध गाउँपालिकाले आफ्नो परिचय पुस्तिकामा आफ्नो पालिकाको उच्च बस्ती भनेर चार हजार १५० मिटर उचाइको चिन्जे गाउँलाई उल्लेख गरेको रहेछ । 

धो गाउँमा पुगेर हामी विद्यालयमै बास बस्यौँ । धो गाउँबाट तिन्जे गाउँ, सालदाङ गाउँ, भिजेर गाउँ हुँदै फोक्सुन्डोतालको छेउमा रहेको पुमो गाउँमा पुग्यौँ । हामीले से गुम्बाको बाहिर बरन्डामा रात काट्नु पर्‍यो । चिसोले शरीर निकै कठ्याङ्ग्रिएको थियो । झोलामा आफैँले बोकेर लगेका सुक्का खानाबाहेक अन्य खानेकुरा पाइँदैनथ्यो । भोट क्षेत्रका सबै विद्यालय पुगेर बालबालिका, शिक्षक र अभिभावकको माया र स्नेह सँगाल्दै हामी १६ दिनको पैदलयात्रापछि सदरमुकाम दुनै फर्कियौँ । 

   मुना     

Author

रमाकान्त शर्मा