• १३ फागुन २०८१, मङ्गलबार

सखर बनाउन व्यस्त किसान

blog

हिलिहाङ गाउँपालिका ७ का एक किसान खेतमा उखु काटेर खुर्किंदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, फागुन १३ गते । पाँचथरको फिदिम नगरपालिका ४ का ७७ वर्षीय घनश्याम पोखरेल उज्यालो नहुँदै उखु पेलेर रस झिक्न थाल्नुहुन्छ । रस झिकिसकेपछि पकाएर पहिले खुदो त्यसपछि सखर बनाउने उहाँको दैनिकी हो । गत मङ्सिर ३ गतेदेखि उखु पेलेर सखर पकाउन थाल्नुभएका उहाँको यो दैनिक चैत पहिलो सातासम्म चल्छ ।

"दैनिक २० देखि ३० किलोसम्म सखर निकाल्छु," उहाँले भन्नुभयो, "हिलिहाङ गाउँपालिका ७ की रिता पोखरेल पनि हिजोआज उखु काटेर पेल्दै सखर बनाउन व्यस्त हुनुहुन्छ ।"

घनश्याम र रिता झैं फिदिम ४ र हिलिहाङ ७ लाई सिमाना छुट्याएर बगेको हेँवा खोला आसपास उखु खेती गर्दै आएका २० किसानको पनि व्यस्तता एउटै छ । यहाँका प्रायः किशानले उर्वर फाँटमा ज्ञवरा जातका उखु लगाएका छन् । यो वर्ष गत असोज १२ गते आएको बाढीले उखु रोपेको खेत कटान गरेर लगे पनि बचेको खेतको उत्पादन स्याहार्दै सखर निकाल्नु हिजोआज यहाँका किसानको दैनिकी हो ।

"खेतका यी फाँटमा पहिले धान रोप्थ्यौ, पछिल्लो समय धान खेतीमा रोग किराको प्रकोप बढ्दै गएपछि त्यसलाई त्यागेर उखुतर्फ उन्मुख भएका हौं,यो वर्षको बाढीले वारिपारिको खेत कटान गरेकाले सखर उत्पादन पनि घट्यो," हिलिहाङ ७ का नेत्र पोखरेलले भन्नुभयो । 

यस स्थानमा कालो, सेतो र रातो गरी ३ थरी ज्ञवरा उखु उत्पादन हुन्छ । किसानहरूका अनुसार फागुन चैत महिनामा रोपिकएका उखुका बिरुवा वैशाख देखि गोलमेल गर्न थाल्नुपर्छ, रोपेको दोस्रो वर्षदेखि उत्पादन दिन थाल्ने यस क्षेत्रमा उत्पादित उखुबाट प्रायः किसान सखर नै बनाउने गर्छन् ।

अगुवा किसान भिमप्रसाद पोखरेलका अनुसार यी फाँटमा किसानले परापूर्वकालबाटै उखु खेती र सखर बनाउँदै आएका हुन । तर यस्ले २०६७ सालदेखि व्यापकता पाउन थालेको उहाँले बताउनुभयो । अहिले फिदिम ४ र हिलिहाङ ७ मा मात्रै २० परिवारले व्यावसायिक उखु खेती गरिरहेका छन् । आफ्नै अनुभव र सीपले उखु खेती गरेर सखर उत्पादन गर्दै आएका किसान स्थानीय तह र कृषि ज्ञान केन्द्र लगायतका सरोकारवाला निकायबाट प्राविधिक सहयोग नपाएको गुनासो गर्छन् । 

यसैगरी असोज १२ गते आएको बाढीले उखु खेतीमा ठुलो क्षति पुर्‍याए पनि आफुहरूलाई कहि कतैबाट सहयोग नजुटेको किसानहरूको गुनासो छ । यहाँ उत्पादिन उखुबाट निर्मित सखर जिल्लाका विभिन्न स्थानबाट आएका उपभोक्ताले घरैबाट किनेर लैजान्छन । यो सँगै झापा,काठमाडाैँ र पोखरासम्म निर्यात हुने गरेको किसानहरू बताउँछन् । 

यहाँ उत्पादन भएको सखर प्रतिकिलो पाँच सय रुपियाँमा बिक्री हुन्छ । उच्च रक्तचाप, मधुमेह र कमलपित्त भएका बिरामीले पनि खान मिल्ने ज्ञवरा जातको उखु पेलेर तयार पारिएको सखर औषधीय गुणले युक्त मानिन्छ । सखर चाकु,कसार,मिठाई लड्डु आदीमा पनि प्रयोग हुन्छ । केहि उपभोक्ताले चियामा पनि सखर मिलाएर पिउँछन् ।