फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १३ गते । सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरी निरीक्षक सन्तोषी महतको मृत्युपछि सशस्त्रकै प्रहरी निरीक्षक विवेक जोशी पक्राउ परेको छ । महतको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा आइतबार किटानी जाहेरी दिएपछि सोमबार बेलुका जोशीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । महतको शव आइतबार ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा भेटिएको थियो ।
महत पोखराको हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्र लामा पाटनमा कार्यरत हुनुहुन्थ्यो । सिन्धुपाल्चोककी २८ वर्षीया महत २०७२ मा सशस्त्रमा प्रवेश गर्नुभएको थियो ।
पक्राउ पर्नुभएका प्रहरी निरीक्षक जोशी तनहुँमा कार्यरत हुनुहुन्छ । महत र जोशी प्रेम सम्बन्धमा रहेको र जोशीकै कारण महतले आत्महत्या गरेको किटानी जाहेरी परेको छ । यो घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।