• ३ असार २०८१, सोमबार

जाजरकोटको चार पालिकाको कार्यपालिका सदस्यमा गठबन्धन बिजयी

blog

भेरी नगरपालिकामा सत्ता गठबन्धन दलबाट नगरकार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुसहितको बिजयी जुलुस । तस्विरः वासुदेव शर्मा, जाजरकोट ।

वासुदेव शर्मा

जाजरकोट, जेठ १६ गते । जाजरकोटका भेरी, छेडागाड नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोटमा कार्यपालिका गठन भएको छ । भेरी, छेडागाड, जुनीचाँदे, शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काग्रेस र नेकपा (माओवादी केन्द्र) का सदस्य बिजयी भएका छन् । कुशेमा काग्रेस र बारेकोटमा नेकपा (एमाले) एकलौटी कार्यपालिका सदस्य चयन गरेको हो । 

भेरी नगरपालिकाको नगर कार्यपालिका निर्वाचनबाट सत्ता गठबन्धनका उमेदवार बिजयी भएका छन् । नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा काँग्रेसको तर्फबाट चार, माओबादी केन्द्रको तर्फबाट चार सदस्य बिजयी भएका हुन् । 

नगर कार्यपालिकामा ५ जना निर्वाचित र ३ जना गरी ८ जना समावेशी खुल्ला सदस्य निर्वाचित हुने व्यवस्था छ । गत वैशाख ३० गते निर्वाचित भएको नगरप्रमुख, नगर उपप्रमुख वडा अध्यक्ष वडा सदस्यहरुले मतदान गर्नुभएको थियो ।

मुख्य निर्वाचन कार्यालयमा भएको निर्वाचनमा सत्ता गठबन्धन दल काँग्रेसको तर्फबाट दलित अल्पसंख्यक सदस्यमा डोटे बादी, महिला सदस्यमा कालीका खत्री, भिमकुमारी पुन, सिर्जना घर्ती माओवादीको तर्फबाट खुल्ला सदस्य पदमा मनिराम दमाई, गोपाल लुहार महिला सदस्यमा लिलादेबी गौतम विक, मोति नेपाली कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । 

त्यसैगरी शिवालय गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यमा गठबन्धन दल नेपाली काँग्रेसबाट खुल्ला दलित अल्पसंख्यक सदस्यमा शेरबहादुर नेपाली (बादी) महिला सदस्यमा तारा थापामगर, पुष्पा बिक, माओबादी केन्द्रको तर्फबाट खुल्ला दलित अल्पसंख्यक सदस्यमा लिले सुनार महिला सदस्यतर्फ भबिसरा बिसी, पार्वती विक निर्वाचित हुनुभएको छ । 

जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा सत्ता गठबन्धन दलबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भेरी, छेडा, शिवालय र जुनीचाँदेमा कार्यपालिका सदस्य काँग्रेस र माओवादी केन्द्रबाट बिजयी भएका छन । 

बारेकोटमा एमालेको बहुमत पुगेका कारण कार्यपालिका सदस्यमा पूरै बिजयी भएका छन् । कुशे गाउँपालिकामा काँग्रेसको बहुमत भएका कारण पूरै काँग्रेसका सदस्य बिजयी भएका हुन् । कार्यपालिका सदस्यहरुको पालिकामा महत्वपुर्ण भुमिका रहने भएकाले पालिकाका कार्यक्रम कार्यपालिका सदस्यबाट अनुमोदन भएपछि लागुहुने व्यवस्था छ । 

नगरपालिका तथा गाउँपालिकाले पूर्णता पाएका छन् । कार्यपालिका सदस्यसँगै पालिकालाई नियमित कार्य सञ्चालन गर्ने ढोका खुल्ला भएको छ । नलगाड नगरपालिकामा आज कार्यपालिका सदस्य चयनका लागि आज मतदान हुनेभएको छ ।