धीरेन्द्रप्रसाद साह
जनकपुर, फागुन १३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियाको हावामा मिठो सुगन्ध आउँछ । ६० वर्षअघि बैजनाथ साहका बुबाले खाजा पसलको सुरुवात गर्दा थालेको पेडाको सुगन्ध अहिले पनि जीवन्त बनेको हो ।
त्यसबेलाको उत्पादन सामान्य पेडा अहिले देशकै प्रतिष्ठित ब्रान्ड बनेको छ । त्यसकै नाममा अहिले लाखौँको कारोबार र रोजगारी बढाएको छ । बरमझिया पेडाको नाम मात्र होइन, यसको स्वाद र गुणस्तरले पनि नेपाल र भारतका विभिन्न स्थानमा व्यापक नाम कमाएको छ ।
तेस्रो पुस्तामा पेडा पसल
बरमझियामा अहिले सडक किनाराका दायाँबायाँ घरैपच्छिे पेडा पसल छन् । ती सबैमा कतै न कतै बाजे र पेडा शब्द जोडिएका हुन्छन् । बाजे भनेको तेस्रो पुस्ताअघिको नाता हो । त्यही ब्रान्ड बनेको बाजे बैजनाथ पेडा पसल तेस्रो पुस्तामा पुस्तान्तरण भएको छ । २०६९ साउन १८ गते उहाँको निधनपछि छोराले समालेको पेडा पसल अहिले नातिले निरन्तरता दिइरहेका छन् ।
कञ्चनरूप नगरपालिका–२, बरमझियास्थित श्री बैजनाथ साह पेडा भण्डारको नामले सञ्चालन गरेको पेडा पसल बैजनाथको स्वर्गवासपछि दुई छोरामध्ये कान्छो अवकाश प्राप्त शिक्षक राजकुमार साहले निरन्तरता दिइरहनुभएको थियो । पछि राजकुमारले पनि आफ्नो दुई छोरामध्ये जेठो छोरा विवेकलाई पेडा पसल सञ्चालनको सम्पूर्ण जिम्मेवारी सुम्पिएदेखि निरन्तरता दिइरहनुभएको छ ।
बैजनाथको पेडा पसलको कहानी सानो खाजा पसलबाट सुरु भएको थियो । उहाँका बुवा स्व. अकल साह विसं २०१० आसपास कोशीटप्पु किनार बरमझियामा चना, चिउरा र कचरी जस्ता साधारण परिकार बेच्ने पसल चलाइरहनुभएको थियो । भारतको विहार भ्रमण गर्ने क्रममा बैजनाथले पेडा बनाउने कला सिकेर फर्किएपछि त्यस पसलबाटै पेडा व्यवसायको सुरुवात गर्नुभएको थियो । विसं २०१२/१३ मा साहले करिब एक सय रुपियाँको लगानीमा पेडा बनाउँदै व्यापार सुरु गर्नुभएको थियो । बरमझियाको पेडा स्थानीय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि प्रख्यात छ । यहाँ करिब एक सय पेडा पसल सञ्चालनमा छन् । जसमा उपभोक्तालाई आकर्षित गर्न ‘असली’, ‘पुरानो’, ‘बुढो’, र ‘वैजनाथ’ जस्ता शब्दहरूको प्रयोग गरिएको हुन्छ ।
यद्यपि बैजनाथ साहको पेडा मात्रै असली मानेर सबैले विश्वास गरेका छन् । पेडा व्यवसायको प्रभाव भनेको केवल यसको आर्थिक पक्षमा छैन । यसले हजारौँलाई रोजगारी र स्वरोजगारीका अवसरहरू प्रदान गरेको छ । प्रत्येक पेडा पसलमा औसत चारदेखि आठ जनासम्म कामदार खटिन्छन्, जसले स्थानीय आर्थिक संरचनामा सकारात्मक प्रभाव पारेको छ ।
पेडा बनाउन शुद्ध दुध र खुवाको प्रयोग गरिन्छ । बरमझियाका राजेन्द्र साहका अनुसार एक क्विन्टल दुधबाट २० किलो पेडा मात्र तयार हुन्छ । एक पसलमा दैनिक औसत ५० देखि ७० किलो पेडा बिक्री हुन्छ । प्रतिकिलो पेडा एक हजार रुपियाँमा बिक्री हुन्छ । यसरी एउटा पसलले दैनिक ५० हजार रुपियाँसम्मको पेडा बिक्री गर्छ । बरमझियाका पेडा पसलहरूमा एकसाथ ५० लाख रुपियाँको पेडा बिक्री भई आर्थिक कारोबार भइरहेको छ । यसका लागि दैनिक ४० हजार लिटर दुधको खपत हुन्छ, जसको मूल्य प्रतिलिटर ७० देखि ८० रुपियाँसम्म पर्छ ।
बरमझियाको पेडा व्यवसायसँग सम्बन्धित गाईभैँसीपालन र दुग्ध सङ्कलन केन्द्रहरूमा पनि वृद्धि देखिएको छ । पेडा उत्पादनका लागि आवश्यक दुधको आपूर्ति बढाउने उद्देश्यले, फत्तेपुर, महुलीलगायतका दुग्ध सङ्कलन केन्द्रसँग साझेदारी गरिन्छ । यसबाट किसान र दुग्ध सङ्कलन केन्द्रको व्यापार पनि वृद्धि भएको छ ।
पेडा व्यवसायले कामदारलाई मात्र रोजगार दिएको छैन, बरमझिया, वरपरका गाउँमा गाईभैँसीपालन र दुध उत्पादनलाई पनि उत्साहित गरेको छ । यसले बृहत्तर स्तरमा आर्थिक समृद्धि ल्याएको छ । लाखौँ लिटर दुधको खपत भएकाले गाईभैँसीपालक किसानले पनि आफ्नो आय बढाएका छन् ।