चन्द्र पन्दाक
ताप्लेजुङ, असार ५ गते। ताप्लेजुङमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सात जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हाल विभिन्न देशमा बसोवास गर्दै आएका उक्त सङ्ख्यालाई गैरआवासीय नागरिकता वितरण गरेको हो।
जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार गतवर्ष आर्थिक वर्ष भरमा छ जनालाई गैर आवासीय नागरिकता वितरण भएको थियो। यसवर्ष जेठ मसान्तभित्रै सात जनालाई गैर आवासीय र सोही सङ्ख्या अर्थात् सात जनालाई नै अङ्गीकृत नागरिकता वितरण गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत आवमा १३ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरिएको थियो। यता गैरआवासीय, अङ्गीकृतबाहेक चालु आवको जेठ सम्ममा तीन हजार १७८ जनालाई जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरेको छ। वंशजका आधारमा सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो। यस अवधिमा दुई हजार ५२३ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।