म्याग्दी समाचारदाता
म्याग्दी, फागुन १२ गते । दुई दशकअगाडिसम्म ग्रामीण भेगमा खर तथा ढुङ्गाले घर छाउने सिप भएका व्यक्तिहरू प्रशस्तै पाइन्थे । अहिले भने पुरानो पुस्ता घरको धुरीमा चढेर छाउन नसक्ने र पछिल्लो पुस्ता बिदेसिएको तथा नयाँ पुस्तामा सिप नै नहुँदा वैकल्पिक माध्यमको खोजी गर्नुपर्ने अवस्था आउन थालेको छ । विशेष गरी युवकयुवती वैदेशिक रोजगारीमा गएका कारण पुराना पुस्ताको सिप पछिल्लो पुस्तासम्म हस्तान्तरण हुन नसक्ने भएको छ । ग्रामीण क्षेत्रसम्म पुगेका यातायातको पहुँचले कङ्व्रिmटका पक्की संरचना निर्माणले गर्दा पनि परम्परागत ढुङ्गेघर कम हुँदै जानुका साथै खरका घर भने लोप हुने अवस्थामा पुग्न थालेका छन् ।
हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा दुई दशकअगाडिसम्म ढुङ्गा र खरले छाएका तथा रातो माटो एवं कमेरोले पोतिएका घर देखिन्थे । दुई दशकअगाडिसम्म फर्केर हेर्ने हो भने पर्यटकीय रूपमा महत्वपूर्ण जिल्ला म्याग्दीमा विदेशी पर्यटक हुन् वा सहरिया तथा बजारबाट गाउँमा पुग्दा, ती घरले मनै लोभ्याउने गर्थे । मङ्गला गाउँपालिका–३ की टीकादेवी सापकोटाका अनुसार पहिले गाउँमा यातायात पुगेको थिएन र त्यो समय गाउँबस्तीका घर निकै आकर्षक थिए । सडक विस्तार भएर गाउँमा यातायातका साधन पुगेपछि भने सिमेन्ट, रड र कङ्व्रिmट प्रयोग गरी पक्की घर निर्माण गर्ने व्रmम बढिरहेको छ । आधुनिक विकासले पुराना परम्परागत घर विस्थापित भएको उहाँको बुझाइ छ ।
परम्परागत खरका घर र ढुङ्गेघर गाउँबाट बिस्तारै हराउँदै गएका छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठड्याउन सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् भने न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्ताले छाउन थालेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याम, उपल्लो दुखु, बेनी नगरपालिका–४ को बास्कुना, थामडाँडा, रघुगङ्गा गाउँपालिका–६ को पाखापानीलगायतका विभिन्न बस्तीमा दशकअगाडिसम्म ढुङ्गा र केही खरले छाइएका घर अहिले पक्कीमा रूपान्तरण हुँदै गएका छन् । कमेरो र रातोमाटोले पोतिएका हुने ती घर विभिन्न रङका जस्तापाताले छाएर रङ्गीचङ्गी देखिन थालेका छन् ।
गाउँमा सडक पुगेपछि हुनेखानेदेखि लिएर ऋण काढेर भए पनि यहाँका बासिन्दाले परम्परागत घर भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको मालिका गाउँपालिका–६, दिच्यामका टेकबहादुर पुनले बताउनुभयो । पुनले भन्नुभयो, “डेढ दशकअगाडिसम्म गाउँमा धेरै जसो घर ढुङ्गा र खरले छाएका थिए, गाडीहरू आउने बाटो पनि थिएन । अहिले ती सबै घर लोप भइसके ।”
बेनी नगरपालिका–४ को सिङ्गा, डाँडाखेत, बास्कुना, थामडाँडामा पनि एक दशकअगाडिसम्म ढुङ्गेघर थिए । अहिले ढुङ्गाका घर भएका ठाउँमा ठुला ठुला कङ्क्रिटका घरहरू ठडिएका छन् । सडक सिङ्गामा नपुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भए पनि अहिले धेरै जसोले पक्की भवन बनाउन थालेका स्थानीय गोविन्द पौडेलको भनाइ छ ।
बास्कुनाका लालबहादुर केसीले हालै पुरानो कच्ची घर भत्काएर नयाँ डिजाइनको पक्की घर बनाउन थालेको बताउनुभयो । सिङ्गाका धेरै जसो मानिस विदेश भएकाले उनीहरूले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापन गरी पक्की घर बनाउन थालेका उहाँ बताउनुहुन्छ ।
विदेशमा कमाएको पैसा म्याग्दीमा धेरै जसो अनुत्पादक क्षेत्रमै खर्च हुने गरेको बैङ्क तथा वित्तीय संस्थाहरूको तथ्याङ्कले देखाएको छ । घर, घडेरी र बजार झरेर बस्नेमै धेरै जसो पैसा खर्च हुने गरेको पाइएको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले भन्नुभयो, “यहाँका मान्छे सबै विदेशमा छन् ।