• १२ फागुन २०८१, सोमबार

प्युठान दम्पती हत्या प्रकरण: इगोको बदलामा काका काकीको हत्या

blog

दम्पति हत्यामा संलग्न ३४ वर्र्षीय पंकज परियार । तस्बिरः गोरखापत्र

सलिम मियाँ

बिजुवार, फागुन १२ गते । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उहाँकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।

घटनाको जानकारी पछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनुसार  रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको  पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

युवकले हत्या गरेको स्वीकारेका छन्, डिएसपी बस्यालले भन्नुभयो,  प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले , “सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेर भनी स्वीकार गरेका छन् ।

एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए । यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिवार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन  तीन पटक टाउकोमा प्रहार गरेका थिए । 

प्रहरीले  घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र  मृतकहरूको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । डिएसपी  बस्यालले हत्याको सूचना दिने  पहिलो व्यक्ति नै पङ्कज भएको समेत जानकारी दिनुभयो ।

उहाँले,‘जसले हामीलाई सबैभन्दा पहिला घटना शङ्कास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो,’ भन्नुभयो।