चितवन समाचारदाता
चितवन, फागुन १२ गते । नारायणगढ–मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ ।
सवारीसाधनको चापका कारण वन्यजन्तुले सडक पार गर्न नसक्ने भन्दै नारायणगढको आँपटारीबाट रामनगर र जुगेडीको भतेरी जङ्गलमा अन्डर पास (पुलमुनीबाट जान सकिने मार्ग) निर्माण गरिएको थियो । मुग्लिङ–नारायणगढ सडक विस्तारका व्रmममा निर्माण गरिएको अन्डर पास पुल साँघुरो भएका कारण ठुला वन्यजन्तुले प्रयोग नगरेको पाइएको हो ।
अन्डर पास क्षेत्रमा वन्यजन्तुले प्रयोग गरे÷नगरेको विषयमा निगरानी राख्न सिसी क्यामरा राखिएको थियो । तीन वर्षसम्मको निगरानीमा साना प्रजातिका जनावरबाहेक अन्य कुनै पनि वन्यजन्तु त्यहाँबाट प्रवेश नगरेको जिल्ला वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै अध्ययन ग¥यौँ । लामो समयमा हरिणलगायतका थोरै जनावर मात्र त्यस स्थानबाट प्रवेश गरेको पायौँ ।”
पछिल्लो समय त्यहाँ जथाभाबी फोहोर फाल्ने गरिएकाले कुनै पनि जनावरले प्रयोग नगरेको उहाँको भनाइ छ । केही समयदेखि सिसी क्यामरासमेत बिग्रिएको छ तर नयाँ क्यामरा राख्ने पनि कुनै योजना छैन ।
वन्यजन्तु प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत आशिष गुरुङले चार वर्षदेखि उक्त अन्डर पास कुनै पनि वन्यजन्तुले प्रयोग नगरेको पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हात्ती, गैँडा, बाघका लागि चौडाइ साँधुरो रहेको छ । सडक पार गर्नका लागि जनावरलाई फराकिलो स्थान आवश्यक पर्छ तर त्यहाँ मुस्किलले सानो गाडी छिर्न सक्छ ।”
भारत तथा अन्य विकसित देशमा वन्यजन्तुमैत्री सडक निर्माण गरेको पाइन्छ । त्यहाँ जनावरमैत्री पुल बनाइएको हुन्छ । नेपालमा भने यहीँ एक ठाउँमा मात्र बनाइएको भए पनि यो डिजाइनमा नै त्रुटि रहेको विज्ञको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले वन्यजन्तुमैत्री निर्माण नभएकाले जनावरले प्रयोग नगरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस्ता संरचना आवश्यक छ तर साँधुरो होइन फराकिलो निर्माण गर्नु पर्छ ।” उहाँले भरतपुरको गोन्द्राङदेखि टिकौली वन क्षेत्रमा अन्डर पास पुल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न तुलनात्मक रूपमा निकै खर्चिलो हुन्छ तर पनि जैविक विविधता र वन्यजन्तुको वासस्थान संरक्षण गर्न आवश्यक स्थानमा आर्थिक अवस्थाले धान्न सक्ने जति वन्यजन्तुमैत्री पूर्वाधार बनाउनु पर्छ ।” अहिले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्डमा समेत जैविक मार्गमा पर्ने विभिन्न १३ स्थानमा पुल कलभर्टलाई केहीमाथि उठाएर वन्यजन्तुलाई आवतजावत गर्न मिल्ने गरी अन्डर पास बनाउने काम भइरहेको छ । वन्यजन्तुुको आवतजावतलाई सुरक्षित तुल्याई दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुको वासस्थान र हिँडडुलका क्षेत्रमा निर्माण हुने रेखात्मक प्रकृतिका पूर्वाधार संरचनालाई वन्यजन्तुमैत्री बनाउन निर्देशिका बनाइएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा मापदण्ड तोकिएको हो ।
निर्देशिकामा राष्ट्रिय निकुञ्ज, आरक्ष, जैविकमार्ग वा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रलाई अति संवेदनशील क्षेत्र भनी परिभाषित गरिएको छ । यस्तो क्षेत्रमा पर्ने सडक, रेलमार्ग, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध, तटबन्ध, ग्यास तथा तेलका पाइपलाइन, विद्युत् आयोजनाका बाँधलगायत पूर्वाधार निर्माण गर्दा निर्देशिका लागु गर्नुपर्ने प्रावधान छ ।