गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ । सो परिमाणमा ग्यास आयात गरेर छ अर्ब ६१ करोड ६५ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
गत वर्ष सो अवधिमा ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपियाँ बराबरको दुई लाख ९८ हजार ९७५ मेट्रिक टन आयात भएको थियो । गत वर्षको तुलनामा पाँच अर्ब रुपियाँ बराबरको १६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । बजारमा खपत बढेसँगै ग्यासको आयातमा वृद्धि भएको हो ।
नेपाल आयल निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । सोही कोटा अनुसार व्यवसायीले ग्यास आयात गर्दै आएका छन् ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चिसो मौसममा बजारमा ग्यासको खपत धेरै हुँदा आयातमा समेत वृद्धि भएको जानकारी दिनुभयो । पछिल्लो समय गाउँ गाउँमा समेत ग्यासको प्रयोग हुन थालेपछि खपत बढ्दै गएको छ । मुलुकभर ४४ प्रतिशत घरधुरीमा ग्यासको प्रयोग हुने गर्छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले चिसोमा ग्यासको खपत १० देखि १५ प्रतिशतले बढ्ने गरेको जानकारी दिनुभयो । गर्मी मौसमको तुलनामा चिसो मौसममा ग्यासको खपत धेरै हुने हुँदा ग्यासको आयातमा समेत वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
सरकारले विद्युत्को प्रयोग बढाएर ग्यासको आयात घटाउने लक्ष्य लिए पनि ग्यासको आयात भने बढ्दै गएको छ । पछिल्लो समय घर घरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगसमेत बढ्दै गएको छ । खाना पकाउनका लागि बिजुलीको प्रयोग भए पनि ग्यासको खपतसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
गत आव २०८०/८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपियाँ बराबरको पाँच लाख २४ हजार २०४ मेट्रिक टन ग्यास आयात भएको थियो । ५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात गर्ने गरेका छन् । बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ ।