रामकृष्ण बोहरा
बागलुङ, फागुन ११ गते । बागलुङ बजारमा सम्पन्न दोस्रो संस्करणको फ्युचर कप अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ ।
शनिबार अबेर सम्पन्न फाइनल खेलमा न्यू ओएसिसले गरिमा आवासीय माध्यमिक विद्यालयलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातदेखि आक्रमक खेल खेलेको न्यू ओएसिसले थप ३ गोल गर्दै ४–१ गोलअन्तरले विजयी भएको हो । उपाधि विजेता न्यू ओएसिसले १२ हजार र उपविजेता गरिमाले ६ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै, विधागत पुरस्कारमा ओएसिसका खेलाडीले बाजी मारेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ओएसिसका सक्षम केसी, उत्कृष्ट गोलरक्षक सिमान्त सापकोटा र सर्वाधिक गोलकर्ता दिप्लब छन्त्याल घोषित हुनुभयो । उहाँहरूले ट्रफी प्राप्त गर्नुभएको छ ।
फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा बागलुङ नगरपालिकाका १९ विद्यालयका २९ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता र उपविजेता खेलाडी र विद्यालयलाई बागलुङ नगरपालिका वडा २ का वडा अध्यक्ष सुरज बोसेल, फ्युचर ब्राइटरका संस्थापक तथा प्रिन्सिपल बालकृष्ण शर्मा, एनप्याब्सन बागलुङका अध्यक्ष नेत्र न्यौपाने, एनप्याब्सन गण्डकी प्रदेशका सदस्य निशान खड्कालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।