• ११ फागुन २०८१, आइतबार

प्रजातन्त्रका लागि गरेको योगदानलाई भुल्नु हुँदैन : मुख्यमन्त्री पाण्डे

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), फागुन ११ गते।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेलाई भुल्न नहुने बताउनुभएको छ। 
वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा लेखेको पुस्तक “नेपालका निधि” को आइतबार पोखरामा गण्डकी विमोचन गर्दै इतिहासलाई बिर्सने नभई सँगसँगै लैजानु पर्ने बताउनुभयो। 

प्रेस युनियन गण्डकीको आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले निधिको नेपालको प्रजातन्त्रिक आन्दोलनमा अतुलनीय योगदान रहेको बताउनुभयो। निधि नेपाली कांग्रेसको सम्पत्ति भएको र  यो पुस्तक युवा पुस्तालाई उपयोगी हुन उहाँको भनाइ छ। निधि जीवित रहँदासम्म मधेश नेपाली कांग्रेसको उर्वर भूमि रहेको उहाँको दाबी छ। 

“प्रजातान्त्रिक आन्दोलनमा के योगदान दियो, नेपालको अर्थतन्त्रमा के भूमिका खेल्यो, नेपालको विकास र जनतासँग कति जोडियो भनेर राजनीतिक नेतृत्व विकास हुने र जन्मिने अवस्था अहिले छैन,” उहाँले भन्नुभयो, “समाजिक सञ्जालमा कति फलोर्स छन् त्यसका आधारमा नेता हुने जमना आए पनि विगतको योगदान र इतिहासलाई भुल्न हुँदैन।” 

प्रजातन्त्र र लोकतन्त्रकमा योगदान गरेकोहरूको बेलाबेलामा चर्चा गरिरहनु पर्ने उहाँको भनाइ छ। कार्यक्रममा पुस्तकका लेखक किशोर नेपालले निधि निष्ठा र इमानको राजनीति गर्ने व्यक्ति भएको बताउनुभयो। उहाँ र उहाँको राजनीतिकलाई नजिकबाट चिनेकाले पुस्तक लेखेको नेपालको भनाइ छ। 

प्रेस युनियन गण्डकी अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, रूपान्तरण प्रकाशनका प्रमुख रुचि श्रेष्ठ, प्रेस युनियन गण्डकी उपाध्यक्ष माधवप्रसाद रेग्मी, महासचिव प्रकाश ढकालले पुस्तक र महेन्द्रनारायण निधिको बारेमा चर्चा गरेका थिए।