• ११ फागुन २०८१, आइतबार

किसानलाई चैते धान लगाउने चटारो

blog

कावासोती–१० रतवलमा चैते धानको बिउ काड्दैै कृषक । तस्बिरः मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन ११ गते । नवलपुरमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । सिमसार क्षेत्र र सिँचाइको सुविधा पर्याप्त भएको जिल्लाका विभिन्न स्थानमा यतिखेर हिउँदे धान लगाउन किसान व्यस्त भएका हुन् । 

बर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि किसान यसतर्फ लागेका छन् । जिल्लाको कावासोती, देवचुली, गैडाकोट, मध्यविन्दु नगरपालिका, विनयीत्रिवेणी गाउँपालिका बुलिङटार गाउँपालिका र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानले अहिले एकले अर्कालाई सघाउँदै चैते धान लगाउने गरेका छन् ।

चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेटक्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । 

पकेट क्षेत्र लागु भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बिउ, यान्त्रिकीकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ संजय ढकालले बताउनु भयो । चैते धान प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रले एक करोड १० लाख रुपैया विनियोजन गरी कार्यक्रम गरेको अर्थविज्ञ ढकालले बताउनु भयो । 

जिल्लामा गत वर्ष एक हजार ५३ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा ६ हजार २४५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । अहिले ४० हेक्टर क्षेत्रफल विस्तार हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले वर्षेनी क्षेत्रफल विस्तार भएको बताउनुभयो । वर्षे धान प्रतिहेक्टर ३ दशमलव ९८ मेट्रिक टन उत्पादन हुने गरेको छ भने हिउँदे धान प्रतिहेक्टर ५ दशमलव ९३ मेट्रिक टन उत्पादन हुने गरेको उहाँको भनाइ छ । 

चैते धानको राम्रो उत्पादन हुने र धानको पकेट क्षेत्र लागु भएको स्थानमा सिँचाइ सुविधा भएकाले धान लगाउन सहज भएको प्रमुख तिवारीले बताउनुभयो । जिल्लामा विशेषगरी चैतेधानका रूपमा चैत ५, हर्दिनाथ –१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ ।