शिवराज ढुंगाना
अछाम, फागुन ११ गते । भारतमा रोजगारीमा रहेका आमाबुवासँगै रहेकी १२ वर्षीया एक बालिका बलात्कारबाट गर्भवती भएको खुलेको छ । सात महिनाअघि भारतको सुरतमा बालिकालाई बलात्कार भएर बच्चा पेटमा रहेको बताइएको छ ।
भारतबाट बालिकासहित अछाम घर फर्केपछि पेट बढ्दै गएपछि आफन्तले बुझ्दा बलात्कार भएको र बच्चा रहेको खुलेको हो । भारतमै रहेका बेलामा बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा आफन्त नाता लाग्ने करिब ४५ वर्षीय एक पुरुषका विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले उजुरी गरेको छ । आरोपी पुरुषको समेत विवरण गोप्य राखिएको छ ।
‘घटना उता इन्डियामा घटना भएको भन्ने आएको छ । अहिले जबरजस्ती करणीको उजुरी परेर घटनाको अनुसन्धान भइरहेको छ’ अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भन्नुभयो ।
बालिकाका आफन्तले उजुरी दिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्नलाई पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको अछाम प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो । बालिकालाई थप उपचार र परीक्षणका लागि बालिकालाई जिल्ला बाहिरको एक ओसिएमसीमा राखिएको छ ।