• ११ फागुन २०८१, आइतबार

पुल निर्माणले लियो गति

blog

मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली पुल निर्माण गरिँदै । तस्बिर : रामबहादुर विक

मार्तडी समाचारदाता

मार्तडी (बाजुरा), फागुन ११ गते । पछिल्लो समय मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली पुल निर्माण कार्यले गति लिएको छ । करिब चार वर्षसम्म अलपत्र अवस्थामा रहेको सो पुलको निर्माणले गति लिएको हो । चार वर्षअघि टिडिआर जुगल कौशिल जेभीसँग डेढ वर्षमा पूरा गर्ने गरेर सम्झौता गरेको थियो ।

सो निर्माण कम्पनीले पाँच करोड ५८ लाख अठासी हजार २७० रुपियाँमा पुल निर्माण गर्ने जिम्मा लिएको थियो । जुगल निर्माण कम्पनीका निर्माण व्यवसायी पङ्कज भट्टले मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको पुल अबको छ महिनाभित्र निर्माण पूरा हुने बताउनुभयो । उहाँका अनुसार चार वर्षसम्म निर्माण अलपत्र अवस्थामा रहेको बाउलीखोलाको पक्की पुललाई यो आर्थिक वर्षको असार मसान्तसम्म पूरा गर्ने गरेर काम गरिरहेको बताउनुभयो ।

स्रोह महिनाभित्र पूरा गरिसक्नुपर्ने आरसिसी पक्की पुल चार वर्ष बितिसक्दा पनि निर्माण कार्य अलपत्र रहेको थियो । पछिल्लो समय जुगल निर्माण कम्पनीले बर्खायाममा खोलाले पुरिदिएको खड्डीमुनिको पानी निकाल्ने काम गरिरहेको छ । निर्माण कार्य अलपत्र हुँदा पुलको खड्डीमुनि बिच्छ्याइएका सरियासमेत खोलाले पुरिदिएको थियो । अहिले सरिया ठाडो पार्ने काम भइरहेको निर्माण व्यवसायी भट्टले बताउनुभयो । अहिले काम गर्ने कामदार आएपछि निर्माण कार्यले तीव्रता पाएको उहाँले बताउनुभयो ।  

गोरखापत्र राष्ट्रिय दैनिकमा पटक पटक आएपछि अलपत्र अवस्थामा रहेको बाउली पुल निर्माण कार्य फेरि सञ्चालन गरिएको छ । पक्की पुलको निर्माण अहिले छिटोछरितो रूपमा भइरहेको जुगल कौशल जेभी कम्पनीले जनाएको छ । 

मार्तडी–कोल्टी जोड्ने बाउली पुल निर्माण भएपछि यहाँका नागरिकलाई सवारीसाधनमा आउजाउ गर्न सजिलो हुने भएको छ । हिउँदको समय मार्तडी–कोल्टी सडकमा निरन्तर सवारीसाधन चले पनि बर्खायाममा भने बाउलीखोलामा पुल नहुँदा सवारीसाधन चल्न सक्दैनन् । सो पुल निर्माण भएपछि निरन्तर सवारीसाधन चल्ने सहज हुने छ । 

सो सडकखण्ड निरन्तर सञ्चालन भएपछि बाजुराको पूर्वीउत्तरी क्षेत्रका चार पालिकासहित छिमेकी जिल्ला मुगु, हुम्ला, कालीकोटका नागरिकलाई सहज हुने भएको छ ।