काठमाडौँ, फागुन ११ गते । आमनिर्वाचन २०७९ सम्पन्न भएको दुई वर्षभन्दा बढी भयो तर निर्वाचन आयोगले आफ्नै परिसरवरिपरि गुज्रेकै तिथिमितिको प्रचारप्रसार हुने सामग्रीसहितको होर्डिङ बोर्ड राखिरहेको छ । तत्कालीन निर्वाचनसम्बन्धी सचेतनामूलक विज्ञापन आयोग परिसरवरिपरि अझै झुन्डिरहेको देखिन्छ ।
काठमाडौँको कान्तिपथस्थित बहादुर भवनको अगाडिपट्टिको सडकपेटीसँग जोडिएको पर्खालमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गरी निर्वाचन मिति २०७९ मङ्सिर ४ गते र समय बिहान ७ बजेदेखि ५ बजेसम्म उल्लेख गरिएको ‘होर्डिङ बोर्ड’ अझै राखिएको छ । खास प्रयोजनका लागि आयोगले जनतालाई सुसूचित गराउन राखेको होर्डिङ बोर्डमा अझै औचित्य सकिसकेको सूचना राख्न नहुने काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताउनुभयो ।
आयोगले कान्तिपथस्थित आफ्नो कार्यालय परिसरसँगै पर्खालले छु्ट्याएको सडकपेटीमा प्रत्येक १० मिटरको दुरीमा त्यस्ता विज्ञापनको होर्डिङ बोर्ड राखेको छ । आयोगले राखेको होर्डिङ बोर्ड सडकपेटीमाथि छ । यसलाई अड्याउन प्रयोग भएका सामग्रीको भारवहन क्षमताको नियमित जाँच गरिएको देखिन्न । हावाहुरी वा अन्य कुनै माध्यमले होर्डिङ बोर्ड खसे सडकपेटी भएर हिँड्ने बटुवा दुर्घटनामा पर्ने जोखिम छ । बाह्य विज्ञापनसम्बन्धी मापदण्ड, २०८१ ले बाह्य विज्ञापन गर्दा ऐनको दफा ४ बमोजिम स्थानीय तहबाट अनुमति लिई मापदण्डबमोजिम गर्नुपर्ने उल्लेख छ । काठमाडौँ महानगरपालिकाले सरकारी निकायले अनुमति लिने अभ्यास नगरेको जनाएको छ । यद्यपि होर्डिङ बोर्डको ‘स्ट्रेन्थ’ सम्बन्धमा जाँच गराएर महानगरको स्वीकृति लिनुपर्ने सहायक प्रवक्ता काफ्लेले बताउनुभयो ।
महानगरपालिकाका राजस्व महाशाखा प्रमुख विमला कोइरालाले सरकारी निकायले पनि कति बलियो संरचनामा राखेको छ भन्ने रेखदेख गर्ने र जोखिमपूर्ण तरिकाले राखे/नराखेको जाँचबुझ गर्ने जिम्मेवारी महानगरपालिकाको रहेको बताउनुभयो । उहाँले आयोगले राखेको होर्डिङ बोर्ड आयोग परिसरभन्दा बाहिर रहेकाले महानगरले सो सम्बन्धमा नियमन गर्ने जानकारी गराउनुभयो । आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले स्थानीय तहसँग सो विज्ञापनको कुनै विधाबारे स्वीकृति लिनुपर्ने जस्तो नलागेको बरु ‘लाइटनिङ’ वस्तु जडान भएकाले विद्युत् प्राधिकरणसँग समन्वय गर्नुपर्ने दाबी गर्नुभयो । अधिकांश होर्डिङ बोर्डमा निर्वाचन मिति र समय उल्लेख छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनपछि आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचन तथा स्थानीय तह उपनिर्वाचन सम्पन्न गरेको छ ।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको वडा नं. १८ र कीर्तिपुर नगरपालिकाको प्रमुखसहित वडाध्यक्षको निर्वाचन हालै सम्पन्न भयो । आयोगले हालै सम्पन्न उपनिर्वाचन सम्बन्धमा जानकारी गराउन र निर्वाचन शिक्षा समेटिने विषयवस्तु उल्लिखित सामग्री राख्न उपयुक्त ठानेन ।
आयोगले औचित्य समाप्त भइसकेको विज्ञापन हटाएर भारवहन क्षमताको जाँच गरी निर्वाचन शिक्षासम्बन्धी अन्य सन्देश रहने विज्ञापन राख्न सक्ने महानगरका वरिष्ठ विज्ञापन अधिकृत प्रदीप कोइरालाले बताउनुभयो । आयोगका सहायक प्रवक्ता चालिसेले सो विज्ञापन असान्दर्भिक भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “असान्दर्भिक भयो । डिस्मेन्टल गर्ने कुरा उठ्यो तर हुन सकेन ।”