काठमाडौँ, फागुन १० गते । प्रधान सेनापति खुला म्याराथन ४२ किमी पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का पहिलो हुनुभएको छ ।
सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा शनिबार भएको प्रतियोगितामा हाफ म्याराथन २१ किमी पुरुषतर्फ सेनाकी मुकेश पाल र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन बन्नुभयो । उपाधिसँगै म्याराथन विजेता खड्काले तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
कूल तीन सय तीन धावक सहभागी प्रतियोगितामा सेनाका राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः दुई लाख र एक लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
यस्तै हाफ म्याराथनमा खुला पुरुषतर्फ सेनाकी गजिन्द्र राई दोस्रो र नरेन्द्र रावल तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपियाँ प्रदान गरियो ।
महिलातर्फ सेनाकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र निर्मला केसीले तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
विजेतालाई रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको विभिन्न स्पर्धामा करिब दुई हजारको सङ्ख्यामा धावकको सहभागी रहेको थियो ।
सामाजिक एकताको प्रतिका रूपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा विसं २०७२ देखि प्रधान सेनापति खुला म्याराथन हुँदै आएको छ ।