• ११ फागुन २०८१, आइतबार

रूपन्देहीमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ शुभारम्भ

blog

लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ शुभारम्भ गर्दै प्रदेश सांसद जमुना ढकाल। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन १० गते। रूपन्देहीमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ को शुभारम्भ गरिएको छ। विद्यालयमा शैक्षिक विकास र सुधारका लागि भरोसा योग्य कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ गरेको हो।

बुटवल ५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ को शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले विद्यालय शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरको बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

प्रमुख सचेतक ढकालले लुम्बिनी प्रदेशमा शैक्षिक गुणस्तर र समावेशिता अभिवृद्धि गर्ने उद्देश्यसहित यो अभियान आएको जानकारी गराउनुभयो।

सार्वजनिक शिक्षाको साखलाई आम अभिभावक, विद्यार्थी तथा सरोकारवालाको भरोसा र विश्वासको केन्द्रको रुपमा स्थापित गर्न ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ सञ्चालन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज लुम्बिनी प्रदेशका सबै जिल्लामा एकैसाथ सुरु गरिएको सो अभियान सफल पार्न लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले आफ्नो स्थान र संस्था मार्फत योगदान गर्न सबैलाई हार्दिक अपिल समेत गरेको छ।