• १० फागुन २०८१, शनिबार

खडेरीको मारमा हिउँदे बाली

blog

उच्च खडेरीका बिचमा पनि सिँचाइ भएको स्थानमा हुर्कंदै गरेको गहुँ ।तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, फागुन १० गते । हिउँदमा पानी नपरेका कारणले हिउँदे बाली पूरै प्रभावित भएको छ । कालीकोटका प्रायः खेती हुने क्षेत्रमा सिँचाइको व्यवस्था छैन । सिँचाइ अभावका कारण यहाँका हिउँदे खेती सुक्न थालेको छ । माघको अन्तिमसम्म पानी पर्छ होला भनेर प्रतीक्षामा रहेका किसान फागुनको पहिलो सातासम्म पनि पानी नपर्दा अब भने पानी पर्ने सम्भावना नभएको भन्दै निराश भएका छन् । 

आकासे पानीको भरमा रहेका जिल्लाका पलाँता गाउँपालिका, पचालझरना गाउँपालिकाभित्रका सबै खेतपाखा अहिलेसम्म बाँझै छन् । पानी नपरेका कारणले गहुँ छर्न सकिरहेका छैनन् । थोरै सिँचाइ पुगेको क्षेत्रमा छरिएका गहुँ पनि सुक्न थालेको छ । 

पलाँता गाउँपालिका–७ का लङ्कबहादुर बमले लगातार दुई वर्ष पलाँता क्षेत्र खडेरीको मारमा परेको बताउनुभयो । उहाँले गत वर्ष पनि यस्तै भएको भन्दै दुवै वर्ष खडेरीले किसान चिन्तामा रहेको सुनाउनुभयो । गत वर्ष सिँचाइ गरेर हुर्काएका गहुँ बालीपछि पानीका मुहान सुक्दा सिँचाइ गर्न नपाएर बोटमै सुकेका थिए । 

जसोतसो जोगाएको बाली चैतको अन्तिममा आएको असिनाले लियो । प्राकृतिक प्रकोपले पनि किसानलाई निकै दुःख दिने गरेको छ । जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका क्षेत्रका केही स्थान, खाँडाचव्रmको तल्लो क्षेत्रमा सिँचाइ सुविधा छ तर खडेरीले पानीका मुहानसमेत सुक्न सुरु भएकाले खोलामा पानी छैन । खाँडाचव्रm नगरपालिकाका निवर्तमान नगरप्रमुख जसिप्रसाद पाण्डेले आफ्नो पालामा केही ठाउँमा सिँचाइ कुला निर्माण भए पनि खडेरीका कारणले ती कुलामा पानी नभएको सुनाउनुभयो । 

पानीको स्रोत नभएको क्षेत्रको जमिनमा धुलो उड्न थालेको छ । पलाँता–२ का विनोद न्यौपानेले खाँडा, बानजडा क्षेत्रमा आगोको मुस्लो जस्तो धुँवा मात्र उड्ने गरेको बताउनुभयो । रास्कोट क्षेत्रका केही सिँचाइ हुने क्षेत्रमा भने गहुँ बाली हरियो देखिन थालेको छ । नगरको वडा नं. ८ को जिउलो हरियो हुँदा सबैको आँखा त्यसतर्फ जाने गरेको छ ।

स्थानीय जनक न्यौपानेले आफ्नो गाउँको जिउलाको हरियाली हेर्ने बढ्न थालेको बताउनुभयो । नगर स्वास्थ्य शाखामा कार्यरत न्यौपाने कुनै काम विशेषले नगरपालिका पुगेकालाई आफ्नो गाउँको खेत देखाउने गर्नुहुन्छ । खेतको सिरानमा सिँचाइ कुलो भएकाले रास्कोट–८ को जिउलोलाई खडेरीको प्रभाव परेको छैन । सिँचाइ नपुग्ने क्षेत्रमा गहुँका बोट हुर्किन नपाउँदै सुकिसकेका छन् ।