माधवप्रसाद बराल
माछापुच्छरे (कास्की), फागुन ९ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेले अबको पार्टी निर्माणको अभियान युवा लक्षित हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) कास्कीले शुक्रबारदेखि थालेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले पार्टीमा युवालाई आकर्षण गर्ने कार्यक्रमलाई प्राथमकिता दिनुपर्ने बताउनुभएको हो ।
“४० वर्ष मुनिको मतदाता संख्या ६० प्रतिशत छ” उहाँले भन्नुभयो, “चुनावमा ४० वर्ष मुनिको मतदाता नै निर्णायक हुने भएकाले युवालक्षित गतिविधि आवश्यक छ, यसमा पार्टीका सबै तहका कमिटीले ध्यान दिनुपर्छ ।”
पार्टी सबै ठाउँमा पुग्न नसक्ने भएकाले जनसंगठनले टोल–टोलमा कमिटी गठन गरेर पार्टीलाई बिस्तार गर्नुपर्ने उहाँको भनाइ छ । “एमालेको टोल–टोलमा कमिटी निर्माण गर्नुपर्छ” उहाँले भन्नुभयो, “तल्लो तहको कमिटी निर्माण गर्दा पनि युवालाई नै समेट्नु पर्छ, पार्टीलाई सुदृढीकरण गर्ने पहिलो प्राथमिकता नै युवालाई आकर्षित गर्ने हो ।” जनप्रतिनिधिले गरेको कामलाई जनतासँग जोडनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको आन्तरिक जीवनमा एकता कायम नभएको बताउनुभयो । उहाँले पार्टीमा देखिएको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई सबै मिलेर परास्त गर्नुपर्ने बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले सरकारले गरेको राम्रा कामको प्रचार हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारीले अभीमुखीकरण कार्यक्रममा बोल्दै जुन भावना र मर्मअनुसार एमाले र कांगं्रेसको गठबन्धन भएको हो, सोहीअनुसार काम हुन नसकेको बताउनुभयो । कार्यक्रम एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको थियो ।