• १० फागुन २०८१, शनिबार

रामशाहघाटदेखि मनकामना मन्दिर जाने सडक स्तरोन्नति

blog

गुणबहादुर रोका

सुलीकोट, फागुन ९ गते । गोरखा नगरपालिका-१३ को रामशाहघाटदेखि नेपालको प्रसिद्ध मन्दिर मनकामना मन्दिर जाने सडक स्तरोन्नति सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सिमानमा रहेको रामशाहघाटदेखि मनकामना मन्दिरसम्म सडक खण्ड स्तरोन्नति भएपछि यात्रा सहज हुने भएको हो ।

सडक स्तरोन्नति भएसँगै वर्षा भएपछि हिलाम्मे सडक र भौगोलिक अवस्थाका कारण धुलाम्मे सडक भएर यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएकोे गोरखा सडक योजनाका इन्जिनियर आशिष रिजालले जानकारी दिनुभयो । गोरखा र तनुहँको सिमानाबाट दरौंदी नदी र मर्स्याङ्दी नदीको कुनाबाट मनकामना जाने सडकमा ग्याबिन, रिटनिङ, स्टक्चर र टेवा पर्खाल लगाएर सडक स्तरोन्नति गरिएको छ । 

सडक स्तरोन्नतिले तीव्रता पाएसँगै सडक बाटो भएर यात्रा गर्ने विशेषगरी गोरखाका स्थानीयहरुलाई थोरै रकममा मनकामना मन्दिरमा पुगिने भएको गोरखा नगरपालिकाका – १३ का पूर्व वडाअध्यक्ष हरि खनालले बताउनुभयो । अहिले गोरखाका अधिकांश भक्तजनहरु गोरखाबाट, आबुँखैरनी, मुग्लिङ, केबुलकार हुँदै मनकामना धेरै रकम खर्च गरेर जानुपर्ने अवस्था अन्त्य भएको उहाँको भनाइ छ । 

सडक स्तरोन्नकिा लागि चालु आर्थिक वर्षको सङ्घीय बजेटबाट सङ्घीय सरकारले ६ करोड ९१ लाख रुपियाँ बराबरको बजेट गोरखा सडक योजना कार्यालय गोरखाले ठेक्का मार्फत झण्डै ४ किलोमिटर सडक स्तरोन्नति हुने भएको हो । 

सडक फराकिलो साथै घुम्ती र मोडमा आरसिसि ढलान नाली र ग्याबिन जाली निर्माण गरेर सडक स्तरोन्नति गरिएको सडक योजना कार्यालय गोरखाका इन्जिनियर रिजालले बताउनुभयो । सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । 

साँघुरो र त्यहीँमाथि घुम्ती मोड भएकाले हिउँदमा पनि यात्रा गर्न असहज भएको थियो, बर्खामा त झन् सवारीसाधन हिलाम्मे भएर फस्ने समस्या थियो । अबदेखि हिउँद र बर्खामा छोटो बाटो कम खर्चमा मनकामना मन्दिर जान पाइने भएको भट्टाबेंसीका स्थानीय राजेन्द्र लोहनीको भनाइ छ ।

सडक योजना कार्यालय गोरखा र निर्माण कम्पनी श्री देव विष्णु सोबित विराट बिल्डर्स आरुघाट गोरखाले २०८१ जेठ १७ गते सम्झौता भएर २०८३ जेठ ६ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । त्यही अनुरुप निर्माण कम्पनीले निर्माण कामलाई तीव्रता दिएको साथै समय सीमाभन्दा अगावै काम सम्पन्न हुने गोरखा सडक योजनाका गोरखाका सूचना अधिकारी आशिष रिजालले जानकारी दिनुभयो ।