• १० फागुन २०८१, शनिबार

पर्यटन प्रवर्धन गर्दै आमा समूह

blog

कास्की समाचारदाता

कास्की, फागुन ९ गते । पोखरास्थित घार्मीका आमाहरूले आन्तरिक पर्यटन प्रवर्धन गर्न छिमेकी जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूको अवलोकनलाई प्राथमिकतामा राखेका छन् । 

प्रत्येक वर्ष नयाँ नयाँ ठाउँको अवलोकन गर्ने गरेका आमाहरूले यस वर्ष तनहुँको प्रसिद्ध धार्मिक स्थल ढोरबाराही र बाजस्थल क्षेत्रको अवलोकन गरी धार्मिक तथा पर्यटकीय गतिविधिका बारेमा जानकारी लिएका हुन् । स्थानीय मनकामना आमा समूहमा आबद्ध करिब ५० जना आमाको टोलीले सो क्षेत्रमा पुगी आन्तरिक पर्यटन प्रवर्धन गरेको समूहका अध्यक्ष भगवती पौडेलले जानकारी दिनुभयो । 

आफ्नो गाउँ पनि पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको र आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएकाले अन्य क्षेत्रमा पनि के कस्तो पर्यटन प्रवर्धन भएको छ ? त्यसको जानकारी लिन अवलोकन भम्रण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । 

ढोरबाराही महत्वपूर्ण धार्मिक क्षेत्र भए पनि सो क्षेत्रसँगै जोडिएको बाजस्थला भने ओझेलमा परेको महसुस गरेको टोलीमा सहभागी महेन्द्र मावि घार्मीका प्रधानाध्यापक वासुदेव पौडेलले बताउनुभयो । अवलोकनसँगै बाजस्थला क्षेत्रको पदयात्रा गरेका पार्वती दाहालले बाजस्थला प्रचुर पर्यटकीय सम्भावनाको क्षेत्र रहेको बताउँदै यसको विकास र प्रचारमा स्थानीय सरकारको चासो आवश्यक रहेकोमा जोड दिनुभयो । अवलोकनका लागि पुग्नुभएकी ८६ वर्षीया तुलसी पौडेलले वृद्ध उमेरमा पनि यस्ता महत्वपूर्ण क्षेत्रको अवलोकन गर्न पाउँदा निकै खुसी लागेको अनुभव सुनाउनुभयो । 

शुक्लागण्डकी नगरपालिका–९ मा पर्ने सो स्थलबाट पृथ्वीराजमार्गसहित त्यस आसपासको रमणीय दृश्यको अवलोकन गर्न सकिन्छ । दलित र जनजाति समुदाय बाहुल्य रहेको सो क्षेत्रमा परम्परागत घरहरू देख्न पाइन्छन् । उक्त क्षेत्रको विकासका लागि टोल विकास समिति सक्रिय रहेको छ ।