• १२ फागुन २०८१, सोमबार

‘फोर नेसन्स कप’

कीर्गिस्तानलाई हराउँदै म्यानमार फाइनल नजिक

blog

गोल गरेपछि म्यानमारका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन ८ गते । कीर्गिस्तानमाथि फराकिलो जित निकाल्दै म्यानमार ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा म्यानमारलाई जिताउन यून वादी र मे एचटेट लुले दुई दुई गोल गर्नुभयो । अर्को गोल सन्दर लिनले थप्नुभयो ।

पहिलो हाफमा चार गोल गरेको म्यानमारल दोस्रो हाफमा एक गोल थपेको हो । दोस्रो हाफमा म्यानमारको लगातार प्रहारमा कीर्गिस्तानकी गोल रक्षक बाधक बन्नुभएको थियो । लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएर शीर्षस्थानमा रहेको म्यानमार फाइनल नसिजक पुगेको छ ।

म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो । चार देशसम्मिलित प्रतियोगितामा आयोजक नेपाल तीन अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले हराएको थियो ।

आजै साँझ दशरथ रङ्गशालामा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । यदि नेपालले लेबनानलाई हराएमा नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ । नेपालको जितसँगै म्यानमारले पनि फाइनलमा स्थान बनाउने छ । 

लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।