• ९ फागुन २०८१, शुक्रबार

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

blog

दमौलीस्थित तनहुँ कारागार । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन ८ गते । तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सरुवा भई अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदा उपचार गर्न सकस भएको हो ।

स्वास्थ्य सहायक बोहोरा असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा उपचारमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

कैदीबन्दी बिरामी हुँदासमेत दमौली अस्पताल तथा निजी स्वास्थ्य क्लिनिकमा लैजानु पर्दा समस्या भएको उहाँले बताउनुभयो । कारागारको आफ्नो सवारी साधन नभएको र उपचारका लागि सवारी साधन खोजेर लैजानु पर्ने हुँदा उपचारको साथसाथै सुरक्षाको समस्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । 

कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आउँदा झनै समस्या हुने उहाँले जानकारी दिनुभयो । कारागार प्रशासनका अनुसार महिला र पुरुष गरी तीन सय २९ कैदीबन्दी छन् । महिला कारागारमा आमासँग दुई बालिका समेत आश्रित छन् ।