नवीनराज कुइँकेल
लमजुङ, फागुन ८ गते । विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण गर्न भने बाँकी नै छ ।
यसै सन्दर्भमा लमजुङ प्रहरीले समुदायस्तरमा खोज तथा उद्धार र विपदसम्बन्धी नमुना अभ्यास गरेको छ । तीन दिन लगाएर दोर्दी गाउँपालिका–४ नौथर सेरामा नमूना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीबास्तवले जानकारी दिनुभयो । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङका गुल्म प्रमुख प्रहरी निरीक्षक रामकृष्ण प्रसाद पाठकको कमान्डमा आएको सात जनाको टोलीले नमूना अभ्यास गरेको उहाँले बताउनुभयो ।
नेपाल विभिन्न खाले प्रकोप र त्यसबाट सिर्जना हुने विपदको उच्च जोखिममा रहँदै आएको छ । विभिन्न खाले जोखिमहरू भूकम्प, पहिरो, बाढी, आगलागी, सडक दुर्घटना, विस्फोटन, औद्योगिक दुर्घटनाको जोखिमबाट सिर्जित विपदबाट बच्न र उद्धार कसरी गर्ने भन्ने विषयमा सिकाउन नमूना अभ्यास गरिएको प्रहरीले जनाएको छ ।
द्रुत जलवायु परिवर्तनले पनि प्राकृतिक प्रकोपका घटनाहरूमा वृद्धि भइराखेको छ र विपद् पनि बढ्दो छ । यही परिप्रेक्ष्यमा सम्भावित वा अकल्पनीय किसिमका विपदको सामना गर्न सक्ने क्षमता विकास गर्नु आजको टड्कारो आवश्यकता रहेको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । समयमै गरिने प्रभावकारी उद्धारले विपदबाट थप क्षति हुन र परिस्थिति थप बिग्रनबाट बचाउने उहाँले बताउनुभयो ।
खोज तथा उद्धार क्षमतालाई उत्कृष्ट, जवाफदेही, समयसापेक्ष, प्रविधियुक्त र आधुनिक बनाउन आजको टड्कारो आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् ।