काठमाडौँ, फागुन ७ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताउनुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उहाँले यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । कार्यक्रममा अर्थविद डा.विश्व पौडेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, भास्कर भद्रा र निरज शाहले मुलुकमा रहेको निरङ्कुश, जहाँनिया व्यवस्थाबाट देशलाई मुक्त गरी प्रजातान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वबारे चर्चा गर्नुभएको थियो । रासस