काठमाडौं, फागुन ७ गते । नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उक्त प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएका छन् ।
प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठले चुनौती प्रस्तुत गर्नुहुने छ । जुनियरमा भने बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नुहुने छ । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ ।
उहाँहरुको प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बुधबार नेपाली टोलीलाई बिदाइ गर्नुभएको थियो ।
सो अवसरमा घिसिङले आफूले गरेको प्रशिक्षण अनुरूप प्रतियोगिता पनि देखाउन सुझाव दिनुभयो । साथै उहाँले एसियन गेम्सको तयारीमा रहेको मिसन–२०२६ मा स्थान बनाउनका लागि उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिनुहुँदै अहिले मिसन–२०२६ मा रहेका खेलाडीले राम्रो गर्न नसके उहाँहरूको स्थानमा नयाँ राम्रा खेलाडीले अवसर पाउने स्पष्ट पार्नुभयो ।