• ९ फागुन २०८१, शुक्रबार

चित्रकला र सङ्गीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह

blog

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन ७ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र सङ्गीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाइबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताउनुभयो ।

प्रमुख साहले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा सहयोग पुर्‍याउने जानकारी दिनुभयो । उहाँले महानगरका प्रथम प्रमुख प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले प्रथम प्रमुख सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गर्नुभयो ।

प्रमुख साहले भन्नुभयो, ‘‘काठमाडौं महानगरपालिकाका प्रथम प्रमुख प्रेमलाल (पिएल) सिंहज्यू एकदमै भिजिनरी हुनुहुन्थ्यो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुशी लागेको छ । उहाँको बारेमा स्कुलका नानीबाबुहरुलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ । यो ठाउँमा चाहिँ आज पहिलोचोटि कार्यक्रम गरिएको हो ।’’

महानगरले विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन विभिन्न शैक्षिक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

प्रमुख साहले भन्नुभयो, ‘‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरु पनि एउटा माध्यम हो । त्यसले खालि समयमा नकारात्मक कुराहरुप्रति आकर्षित हुने कुरालाई रोक्छ । पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापमा सृजनात्मकता बढ्दै जान्छ । सबै मान्छे क्रिएटिभ हुन्छ तर विण्डो चाहिँ बन्द भएर बसिराखेको हुन्छ । पेन्टिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ । यसले सिर्जनशीलता बढ्दै जाँदा अरु कामसमेत राम्रो हुँदै जान्छ ।’’