गोरखा, फागुन ७ गते । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पदार्थको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पदार्थ नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताउनुभयो ।
उद्योगले कच्चा पदार्थको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ । ‘‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जङ्गलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भन्नुभयो, ‘‘जङ्गलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,।’’ उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जङ्गलबाट कच्चा पदार्थ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ । ‘‘वर्षभरि तीन महिना फागुन चैत र वैशाख महिनामा जङ्गलमा अरु बेलाभन्दा धेरै कच्चा पदार्थ पाइन्छ ”, उहाँले भन्नुभयोे, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।” जङ्गलबाट झिकेर ल्याएको कच्चा पदार्थ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ ।
शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको कुनै समस्या नरहेको शेर्पाले बताउनुभयो । ‘‘उद्योगले जति उत्पादन गरे पनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’ उहाँले भन्नुभयो, ‘‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’’ मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपियाँमा उद्योगले खरिद गदै आएको छ । ‘‘रोजगारीका हिसाबले त कच्चा पदार्थ सङ्कलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ, उहाँले भन्नुभयो, ‘‘जङ्गलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन् ।’’ उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुईहजार थान (२०/३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिनुभयो । शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज नेपाल बाहिर निर्यात हुँदै आएको छ । रासस