काठमाडौँ, फागुन ७ गते । ७५ औँ प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा शुभकामना व्यक्त गर्नुभएको छ । प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति उहाँले भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिष्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उल्लेख गर्नुभएको छ ।
२००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२–०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
यो ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको जनाएको छ ।