राममणि दाहाल
हेटौँडा, फागुन ६ गते। नेपाल सरकारका गहृमन्त्री रमेश लेखकले बागमती प्रदेश सरकारसँग सहकार्य गरी काम गर्न सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।
हेटौँडामा मंगलबार भएको बागमती प्रदेश सुरक्षा समिति एवं मकवानपुर जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको छलफलमा मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखलाई प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग मिलेर काम गर्न निर्देशन दिनुभएको हो।
गृहमन्त्री लेखकले प्रदेशमा प्रहरी समायोजनका कानुन निर्माणको चरणमा रहेको भन्दै कानुन निर्माण गरी आवश्यक व्यवस्था नभएसम्म शान्ति सुरक्षालगायतका काम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वय र सहकार्यमा गर्न प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको बैठकमा सहभागी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो।
जिल्लाको सुरक्षा निकाय परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी नै मकवानपुर जिल्लामा रिक्त हुँदा समस्या भएको गुनासो सुनेपछि गृहमन्त्री लेखकले छिट्टै मकवानपुरमा प्रमुख जिल्ला अधिकारी खटाउने जानकारी गराउनुभएको छ।
बैठकमा चोरी शिकार, मकवानपुर हुँदै हुने गरेको तस्करी, नेपालबाट भारततर्फ गाँजा, चरेशलगायतका लागूपदार्थ जाने र गरेको र भारतबाट विभिन्न प्रकारका लागूऔषध नेपाल भित्रने समस्या रहेको र राजमार्गमा बढ्दो सवारी दुर्घटनाका बारेमा छलफलभएको थियो। बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले समग्र बागमती प्रदेशको वस्तुस्थिति प्रतिवेदन समेत प्रस्तुतिकरण गर्नुभएको थियो।
साथै सुरक्षा निकायका प्रमुखले चोरी शिकार, तस्करी र लागूपदार्थको ओसारपसार नियन्त्रणका लागि भएका प्रयासका बारेमा गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा बसेको सुरक्षा बैठकमा मकवानपुर जिल्ला र प्रदेशका चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको मन्त्री लामिछानेले बताउनुभयो। बैठकमा प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठको समेत उपस्थिति थियो।
गृहमन्त्री लेखक निर्माण व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा हेटौँडामा मङ्गलबारबाट सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ को उद्घाटनका लागि आउनुभएको हो।