• ८ वैशाख २०८२, सोमबार

कांग्रेसले ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने

blog

नेपाली कांग्रेसले सञ्चालन गर्ने ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर: न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन ६ गते । नेपाली कांग्रेसले फागुन ९ देखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । कांग्रेसको केन्द्रीय सूचना, सञ्चर तथा प्रचार विभागले अभियान सात वटै प्रदेशमा गर्ने जानकारी दियो ।

पत्रकार सम्मेलनमा बोल्नुुहुँदै विभागका सचिव गोपालकुमार झाले सात प्रदेशका राजधानीहरुमा गरिने यो कार्यक्रमको उद्देश्य अहिले देशमा देखिएको निराशा चिर्नु रहेको बताउनुभयो ।

उहाँले देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर भए भरका सकारात्मक कुरालाई ढाकछोप गरिएकाले उक्त भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उहाँले देशमा २००७ सालमा नेपाली कांग्रेसले खेलेको भूमिका, देशको विकास निर्माणमा नीतिगत रुपमा खेलेका भूमिकाहरुबारे जानकारी गराइने बताउनुभयो । 

वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपालले अभियानमा दुई वटा कार्यपत्रहरु प्रस्तुत गर्ने जानकारी दिनुभयो । अभियानअन्तर्गत ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र २१ गते धनगढीमा कार्यक्रम हुने बताउनुभयो ।