• २८ फागुन २०८१, बुधबार

कर्णाली उत्सव सुरु, सार्थक बहस गर्न सुझाव

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सोमबारदेखि सुर्खेतमा सुरु भएको कर्णाली उत्सव, कुडा कर्णालीको उद्घाटन गर्नुहुँदै ।

सुर्खेत समाचारदाता 

सुर्खेत, फागुन ६ गते । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ सोमबारदेखि सुर्खेतमा कर्णाली उत्सव, कुडा कर्णालीको छैठौँ संस्करण सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उत्सवको सुरुवात गर्दै कर्णालीलाई बदल्ने, समृद्धि ल्याउने र भरोसा बढाउने सार्थक बहस चलाउन सुझाव दिनुभएको छ । 

उहाँले विगतमा कर्णालीलाई रोग, भोक, अशिक्षाको नामले चिनाउने गरिएकोमा अब त्यस्तो नाम बदल्ने, कर्णालीको समृद्धि ल्याउने र जनताप्रति भरोसा बढाउने बहस कर्णाली उत्सवले गर्नुपर्ने बताउनुभयो । कर्णालीका उत्पिडन र पीडा देखाएर विगतमा साहित्य, सांस्कृतिक क्रियाकलाप गरिए पनि अब त्यो बदल्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । 

विगतको तुलनामा कर्णाली सुधार हुँदै गइरहेको दाबी गर्नुभयो । आफूले सङ्घ सरकारलाई कर्णालीलाई प्राथमिकतामा पार्न बारम्बार ध्यानाकर्षण गराउने गरेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय कर्णाली कोरिडोर, भेरी कोरिडोर, गमगढी–नाक्चेलाग्ना सडक स्तरोन्नतिमा अहिलेसम्मकै धेरै बजेट छुट्टिएको, सुर्खेत विमानस्थल स्तरोन्नतिको प्रक्रिया र १२३ केभिए विद्युत् प्रसारण लाइनको कामले कर्णाली समृद्धि मार्गतर्फ उन्मुख भइरहेको उहाँको भनाइ छ । साथै कर्णालीलाई दुःखको घाउ मात्र होइन सम्भावनाको मलम लगाउने सकारात्मक सन्देशको केन्द्र कर्णाली उत्सवलाई बनाउन उहाँले आग्रह गर्नुभयो । 

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले प्रदेश सरकारले कर्णालीमा पूर्वाधार विकास, नवप्रवर्तन र रोजगारी, औद्योगिकीकरण, सामाजिक विकास र सुशासन तथा डिजिटल कर्णालीलाई प्राथमिकतामा पारेर योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले कर्णाली उत्सवलाई नयाँ सङ्कल्पको उत्सवका रूपमा आफूले लिएको बताउनुभयो । 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले रोजगारी र उत्पादनलाई स्थानीय पालिकाले सँगसँगै लैजानुपर्ने सुझाव दिनुभयो । उहाँले गत वर्ष कर्णाली प्रदेशमा सबैभन्दा धेरै सल्यानबाट सात हजार, सुर्खेतबाट पाँच हजार तथा मुगु र डोल्पाबाट सबैभन्दा कम पाँच/पाँच सय युवा वैदेशिक रोजगारमा गएको र ९२ जना घाइते, अपाङ्गता तथा मृत्यु भएकाको उद्धार गरेको जानकारी दिनुभयो । सिप सिकेर र तालिम लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्नुभयो । कर्णाली उत्सव, कुडा कर्णालीका परिकल्पनाकार केवलप्रसाद भण्डारीले कर्णालीका समस्यालाई राष्ट्रिय रूपमा उजागर गर्न २०७६ सालदेखि कर्णाली उत्सव, कुडा कर्णालीको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले कर्णाली उत्सवको छैठौँ संस्करणसम्म आइपुग्दा ८० भन्दा बढी सत्र सञ्चालन भई साढे दुई सय विषय तथा सुझाव सङ्कलन गरी प्रदेश सरकार, स्थानीय सरकारलगायत सरोकारवाला पक्षलाई उपलब्ध गराइएको बताउनुभयो । विकासको मूल्याङ्कनमा पछाडि परेको कर्णालीको विविध पक्षलाई बहसका माध्यमबाट उठाइ सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उहाँको भनाइ छ । 

ऋति फाउन्डेसनको आयोजनामा सुरु भएको कर्णाली उत्सव बुधबारसम्म सञ्चालन हुने उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिनुभयो ।