राधा लुइटेल
फिदिम, फागुन ५ गते । पाँचथरको फिदिममा पर्यटन प्रवर्धनका लागि सांस्कृतिक महोत्सव र फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको फिदिम नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलसँगै यहाँको कला संस्कृति र रैथाने उत्पादनको प्रवर्धन गर्न सामाजिक संस्था हेल्प टुगेदर फाउन्डेसनले फोटो प्रदर्शनी गरिएको हो ।
महोत्सवमा यस क्षेत्रमा बसोवास गर्ने जातजातिको संस्कृतिमा आधारित झाँकीका साथ र्याली निकाल्नुका साथै च्याब्रुङ नाच, साकेला नाच, हुर्रा नाच र सङ्गिनी नाच प्रदर्शन गरिएको थियो भने फोटो प्रदर्शनीमा यहाँका पर्यटकीय स्थल, कला, साहित्य, संस्कृति र उत्पादनसँग सम्बन्धित ४८ वटा फोटो प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा दुई दिनको अवधिमा पाँच सयभन्दा बढी दर्शकले फोटो अवलोकन गरेको आयोजक हेल्प टुगेदर फाउन्डेसनका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिनुभयो ।
फोटोको माध्यमबाट पर्यटकय स्थलको प्रचारप्रसारसँगै पर्यटन प्रवर्धन गर्न यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका पदाधिकारीहरू बताउछन् ।
फोटो प्रदर्शनीका लागि फिदिम नगरपालिकाले सहयोग गरेको हो । प्रदर्शनीमा राखिएका मध्ये उत्कृष्ठ तीन वटा फोटोलाई पुरस्कृत गरिएको छ । फोटो प्रदर्शनीको उद्घाटन फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गर्नुभएको थियो ।