काठमाडौँ, फागुन ४ गते । भक्तपुर क्यान्सर अस्पतालमा विगत एक वर्षदेखि क्यान्सरको उपचार गराएर अनुप थापा डिस्चार्ज हुनुभयो । सुर्खेतका अनुपलाई लिम्फोमा क्यान्सर भएको थियो । छ वर्षीय थापाले अहिले क्यान्सरलाई पूर्ण जित्नुभएको छ ।
अनुपकी आमा तुलसी थापाले अनुपलाई एक वर्षअघि घाँटीमा सानो गिर्खा आएको बताउनुभयो । तत्काल सुर्खेत प्रादेशिक अस्पतालमा लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि सो अस्पतालले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रेषण गरेको थियो । शिक्षण अस्पतालमा क्षयरोग हो, औषधी खाए निको हुन्छ भनिएको थियो । पछि बायोप्सी गरेर हेर्दा क्यान्सर पुष्टि भयो । तुलसीले तत्काल भक्तपुर क्यान्सर अस्पतालमा ल्याउनुभयो । एक वर्षको उपचारपछि पूर्ण रूपमा ठिक भएर अनुप डिस्चार्ज हुनुभएको छ ।
वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु लामिछानेले थापाको क्यान्सर जटिल भए पनि पूर्ण रूपमा निको भएको बताउनुभयो । अब छ/छ महिनामा फलोअपमा बस्नुपर्ने हुन्छ, अहिले उहाँलाई क्यान्सर छैन, त्यसैले डिस्चार्ज गरिएको हो । भक्तपुर क्यान्सर अस्पतालमा अनुपजस्ता धेरै बालबालिकाले पूर्ण रूपमा क्यान्सरलाई जितिसकेका छन् ।
१२ वर्षीय अङ्किता शाहलाई पनि क्यान्सर लागेर उपचारपछि साहस थपिएको छ । अहिले अङ्किताले कविता लेख्ने, चित्र बनाउनेजस्ता काम गर्दै आउनुभएको छ ।
भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बालबालिकालाई हुने क्यान्सर शतप्रतिशत निको हुने जानकारी दिनुभयो । उहाँले बालबालिकालाई हुने क्यान्सरका कारण वंशाणुगत (जेनेटिक) हुने गरेको बताउनुभयो । डा. चालिसेका अनुसार नेपालमा बालबालिकालाई हुने क्यान्सर पूर्ण रूपमा निको हुने भन्दै कतिपय बालबालिका उपचारमा ढिलो गरी आउने गरेका छन् ।
बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु लामिछानेले नेपालमा वार्षिक एक हजार पाँच सय जना बालबालिकालाई क्यान्सर हुने गरेको बताउनुभयो । तीमध्ये ५० प्रतिशत उपचारको पहुँचबाहिर रहेका छन् । नेपालमा क्यान्सर पुष्टि भएका ३० देखि ४० प्रतिशत बालबालिकाको उपचार हुने गरेको छ । उहाँले बिचमा उपचार छाडेर जाने समस्या पनि त्यत्तिकै बढिरहेको बताउनुभयो ।
डा. लामिछानेले बाल क्यान्सरमा धेरै चुनौती रहेको जानकारी दिँदै बाल क्यान्सरसम्बन्धी नर्सको कमी, उपचारका लागि कमजोर आर्थिक अवस्था, उपचार बिचमै छाड्ने, पहिचानमा ढिलाइजस्ता समस्याले बाल क्यान्सरमा चुनौती थपिएको बताउनुभयो ।
डा. लामिछानेका अनुसार क्यान्सर अस्पतालमा भएको सुविधा अनुसार १४ वर्षसम्मका बालबालिकाले पूर्ण रूपमा निःशुल्क रूपमा उपचार पाइरहेका छन् । हाल ८० जना बालबालिकाले निःशुल्क उपचारका लागि रजिस्ट्री गराएका छन् । उहाँले अस्पतालमा विभिन्न सङ्घ संस्था तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बालबालिकाको क्यान्सरको उपचार भइरहेको बताउनुभयो । उहाँले बालबालिकामा क्यान्सरको समस्या विश्वव्यापी रूपमा रहेको भए पनि निम्न र मध्यम आय भएका देशमा यसको प्रभाव बढी देखिने गरेको बताउनुभयो ।
डा. लामिछानेका अनुसार बालबालिकालाई सबैभन्दा बढी रक्त क्यान्सर, लिम्फोमा, ब्रेन ट्युमर, रेटिनो प्लास्टोमा, हड्डीको क्यान्सरलगायतका क्यान्सर लाग्ने गर्छ ।
डा. लामिछानेले बाल क्यान्सर सम्पूर्ण क्यान्सरमा छैटौँ र बाल स्वास्थ्य समस्यामा नवौँ प्रमुख जनस्वास्थ्य समस्या भएको जानकारी दिनुभयो । उहाँले बालबालिकामा सबैभन्दा बढी देखिने भनेको रगतको क्यान्सर ल्युकेमिया र लिम्फोमा हो । लिम्फोमा रगतकै कोशिकाबाट देखिएर ग्रन्थीमा देखिने क्यान्सर हो ।
लक्षण
बालबालिकालाई हुने क्यान्सरका लक्षणमा लामो समयसम्म ज्वरो आइरहने, वजन घट्दै जाने, शरीरमा गाँठागुठी तथा गिर्खा देखिने, बच्चा सुस्त हुँदै जाने, रक्तअल्पता देखिने, पेट सुन्निने, शरीरमा नीलो डाम देखिने, रातो रातो धर्सा देखिने गर्छ ।
सन् २०३० सम्ममा विश्वभर क्यान्सरको निदान भएका सबै बालबालिका र किशोरकिशोरीका लागि कम्तीमा ६० प्रतिशत बाँच्ने लक्ष्य हासिल गर्ने उद्देश्य विश्व स्वास्थ्य सङ्गठनको छ ।
यसैबिच क्यान्सर विजेता र उपचाररत बाललालिकासँग विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइएको छ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर विजेता र उपचाररत बाललालिका तथा उनीहरूका परिवारसँग अन्तव्रिर्mया तथा बालबालिकाका विविध कला प्रस्तुति गरी दिवस मनाइएको हो । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘प्रेरणादायी कार्य’ रहेको छ । बालबालिकामा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउनका लागि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाउन सुरु गरिएको हो ।