• ७ वैशाख २०८२, आइतबार

लागुऔषधसहित चौँतिस जना पक्राउ

blog

बाँके समाचारदाता

बाँके, फागुन २ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रूपमा प्रहरी परिचालन गरेको छ । खुला सीमाका कारण लागुऔषध कारोबार बढेको पाइएपछि प्रहरीले योजनाबद्ध रूपमा विशेष अभियान चलाएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार गत माघ महिनामा मात्रै ५४ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १९० ट्याब्लेट लागुऔषध बरामद भएको छ ।  लागुऔषधसहित ३४ जना कारोबारीलाई पक्राउ गरिएको कार्कीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “लागुऔषधमा पनि ब्राउन सुगर ओसारपसार र सेवन ठुलो समस्याका रूपमा रहेको छ, नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था गरिएको छ ।” प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा लागुऔषधका मात्रै १७७ मुद्दा दर्ता गरिएको छ । ९२५ ग्राम ८१५ मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जनाएको छ । सो क्रममा २६४ जनालाई पक्राउ गरिएको छ । 

लागुऔषध नियन्त्रणका लागि सीमापारि भारतीय सुरक्षा निकायसँग समन्वयदेखि गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज केही वर्षदेखि लागुऔषध ब्राउन सुगरको ‘हब’ का रूपमा देखिएको सुरक्षा निकाय र लागुऔषध नियन्त्रणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले दाबी गर्दै आएका छन् ।

सीमापारि भारतीय बजार रुपैडियाबाट ब्राउन सुगर र अन्य लागुपदार्थ भित्र्याउने र बाँकेका विभिन्न सहरी र ग्रामीण इलाका तथा अन्य जिल्लामा पठाउने गरिएको छ । लागुऔषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान नै चलाइरहेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा युवापुस्ता लागुऔषधको उच्च जोखिममा रहेको पाइएको छ । 

यसैबिच गत माघ महिनामा प्रहरीले १४ लाख रुपियाँभन्दा बढीको अवैध भन्सार छलीको सामान बरामद गरेको छ । तीन हजार २९७ वटा सवारीसाधनलाई कारबाही गरी २५ लाख ४५ हजार रुपियाँ राजस्व जम्मा भएको छ । १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । हराएका छ वटा मोटरसाइकल र नौ वटा मोबाइल सेट फेला पारी सम्बद्ध धनीलाई फिर्ता गरिएको छ ।