• १ फागुन २०८१, बिहिबार

‘फोर नेसन्स कप’ का लागि महिला टोलीको घोषणा

blog

प्रतियोगिताका लागि तयारी गर्दै खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १ गते । घरेलु मैदान दशरथ रङ्गशालामा फागुन ४ देखि १५ गतेसम्म हुने ‘फोर नेसन्स कप’अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार कप्तान एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्सी टोलीको घोषणा गरेको हो । प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । 

टोलीको गोलकिपरमा कप्तान एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथले रहनुभएको छ । यस्तै रक्षकमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमा हुनुहुन्छ ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ रहनुभएको छ । स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल हुनुहुन्छ । 

नेपालले एएफसी एसियन कप–२०२६ र फिफा विश्वकपको तयारी स्वरुप ‘फोर नेसन्स कप’ आयोजना गरेको हो । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत सञ्चालन यस प्रतियोगितामा आयोजक नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् ।

तालिका अनुसार नेपालले पहिलो खेल फागुन ५ गते किर्गिस्तानसँग खेल्नेछ। नेपालको  दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ । लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ ।

प्रतियोगितामा भाग लिन कीर्गिस्तान टोली बिहीबार साँझ काठमाडौँ आइपुग्नेछ । यस्तै  म्यानमार र लेबनान शुक्रबार आउने एन्फाले जनाएको छ ।