राममणि दाहाल
हेटौँडा, फागुन १ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्राकृतिक विपत्बाट निम्तिने समस्यासँग लड्न विश्वव्यापी रुपमा सबै पक्षका बिच सहकार्य आवश्यकभएको बताउनुभएको छ ।
उहाँले पछिल्लो समयमा विश्वमा भइरहेको जलवायु परिवर्तनका कारणले नेपाल जस्तो जलवायु परिवर्तनको उच्च जोखिम रहेको देशमा ठुल्ठुला विपत्तीहरूको सामना गर्नु पर्दा हामीले आफ्नो लक्ष्यमा ठुलो क्षति व्यहोर्नु परिरहेको बताउनुभयो ।
युनाइटेड अरब इमिरेट्सको आयोजनामा दुबईमा भएको वल्र्ड गभर्मेण्ट्स समिट २०२५ (विश्व सरकार सम्मेलन) मा राउण्ड टेबल छलफलमा सहभागी हुँदै मुख्यमन्त्री लामाले कुनैपनि सरकारको मुख्य दाहित्व भनेको आफूसँग उपलब्ध श्रोत र साधनको उचित व्यवस्थापन गरी जनताको आवश्यकता पूरा गर्नुका साथै समृद्ध देश निर्माण गर्नुभएको बताउनुभयो ।
मन्त्रीस्तरीय राउण्ड टेबलको प्रभावकारी शासन एवम् सङ्कटमा लचिलोपन सत्रमा सहभागी हुँदै उहाँले सरकारले आफ्ना जनताको दैनिक समस्या समाधान गर्नुका साथसाथै तोकिएको लक्ष्यहरूमा प्रगति हासिल गर्नुपर्ने बताउनुभयो ।
जलवायु परिवर्तनका कारण गत सेप्टेम्बरमा बागमती प्रदेशमा भएको अत्याधिक वर्षाका कारणले ठुलो क्षति व्यहोर्नु परेको र धेरै जनधनको क्षति भएको स्मरण गर्दै मुख्यमन्त्री लामाले भन्नुभयो, ‘‘पछिल्लो समयमा विश्वमा भइरहेको जलवाय परिवर्तनका कारणले नेपाल जस्तो जलवायु परिवर्तनको उच्च जोखिम रहेको देशमा ठुल्ठुला विपत्तिहरूको सामना गर्नु पर्दा हामीले आफ्नो लक्ष्यमा ठुलो क्षति व्यहोर्नु परिरहेको छ ।’’
यस सम्मेलनमार्फ जलवायु परिवर्तनलगायतका विपदसँग लड्नका लागि सबैलाई सहकार्यको अपेक्षा गर्दछौँ । राष्ट्रिय राजमार्गहरू भग्नावशेष भएका छन्, जनताको घर तथा सामुदायिक संरचनाहरू क्षत विक्षत भएका छन् । यसबाट भौतिक पूर्वाधार गुमाउन पुग्यौ र यसको पुनर्निर्माणमा राज्यको बजेटको ठुलो हिस्सा खर्चनु पर्ने अवस्था छ उहाँको भनाइ छ ।
उहाँले अगाडि भन्नुभयो, ‘‘विपत्पछि हामीले योजनागत रूपमा तयार गरेको लक्ष्यमा पुग्न हामीलाई ठुलो अवरोध सिर्जना भएको छ, हाल सञ्चालनमा रहेका योजना तथा कार्यक्रम कार्यान्वयनमा समेत चुनौति सिर्जना भएको छ ।’’
उहाँले समुद्र सतहदेखि केही मिटरको उचाइबाट संसारकै उच्च शिखर सगरमाथा रहेको देश नेपाल जलवायु परिवर्तनका यस किसिमको घटनाबाट नियमित प्रभावित भइरहेको भन्दै हरेक वर्ष मनसुनमा हुने वर्षामा हामीले ठुलो क्षति व्यहोर्नु परिरहेको र यो क्षतिको परिणाम हेर्ने हो भने क्रमशः बढ्दै गइरहेको बताउनुभयो ।
उच्च सहरीकरणले निम्तिएका जोखिम तथा भूकम्पजन्य प्राकृतिक विपतले यसमा थप समस्या ल्याएको चर्चा गर्दै उहाँले यी सबैको समाधानका लागि नेपालमा संघीय प्रणाली अनुसार बागमती प्रदेश सरकार अग्रसर भई लागिरहेको र यसमा सम्पूर्ण पक्षबाट प्राविधिक तथा आर्थिक सहायताको अपेक्षा गरिएको बताउनुभयो ।
‘‘जलवायु परिवर्तन सामना गर्नका लागि नेपाल आफ्नै पहलबाट मात्रै सम्भव नभएकाले ग्लोबल पार्टनरसिपलाई एउटा महत्त्वपूर्ण पक्षको रूपमा लिएका छौँ ।’’ उहाँले भन्नुभयो ।
‘‘हामीले राष्ट्रिय तथा प्रदेश स्तरमा यस विषयमा लड्न रेड कार्यान्वयन केन्द्र तथा जलवायु परिषद्लगायतका संरचनाहरू समेत विकास गरेका छौँ ।’’ उहाँले भन्नुभयो, ‘‘यो विषय हाम्रा लागि नयाँ भए पनि पछिल्लो दश वर्षमा हामीले यस बारेमा ठोस योजना तयार गरी अगाडि बढ्न सफल भएका छौँ ।’’
मुख्यमन्त्री लामाले जलवायु परिवर्तनको हालको दरलाई कम गर्न, यसका कारण भएका समस्याहरूको सामना गर्नका लागि हामी सबैको साझा धारणा र समस्यामा परेका देशहरूलाई विश्वव्यापी रुपमा सहयोग जुटाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सम्मेलनमा मन्त्री तथा उच्च पदाधिकारीहरु गरी विश्वका एक दर्जनबढी देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।