काठमाडौँ, फागुन १ गते । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।
पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
उहाँले भन्नुभयो, “नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अर्थात ७१ प्रतिशत (एक लाख २७ हजार ५५३ )नसर्ने रोगका कारणले गर्दा भएको तथ्याङ्क छ ।”
डा.घिमिरेका अनुसार बललिँदो जीवनशैली, बढ्दो सहरीकरण, परिवतर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा बढ्दै गएको हो ।
हरेक चार वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने सर्वेक्षणले देखाएको छ । समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिष्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च हुनका साथै बिरामीको अल्पायूमै मृत्यु भइरहेको छ ।
जनस्वास्थ्यका रूपमा देखा पर्दै गएको नसर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधुमहे, उच्च रक्तचाप, शरीरको उचाइ र तौलको अनुपातको पहिचान गर्न फागुन १ गते अथार्त आज (बिहीबार)बाट नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सुरु गरेको ।
उक्त अभियानमा प्रत्येक स्वास्थ्य संस्थामा चार प्रकारका नसर्ने रोग मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण), रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको, उचाइ र तौलको आधारमा बिएमआई मापन निःशुल्क परीक्षण गरिने डा.घिमिरेले जानकारी दिनुभयो ।
नेपालमा मृत्यु र अपाङ्गताको मुख्य कारणका रूपमा रहेको नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी फागुन महिनाभर नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य सचिव डा.रोशन पोखरेलले आफ्नो स्वास्थ्यको ख्याल आफैँ राख्न आग्रह गर्नुभयो । यो अभियानमा रोग लागे/नलागेको जाँच गरेर ढुक्क हुन उहाँले सुझाव छ ।
‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वास्थ र दीर्घ जीवन बाँचौ’ भन्ने नाराका साथ अभियान देशभरका स्थानीय तहअन्तर्गतका सबै स्वास्थ्य संस्थामा फागुन महिनाभर सञ्चालन गरिएको छ ।