• १ फागुन २०८१, बिहिबार

आज हेटौँडा उपमहानगरको सेवा र शैक्षिक संस्थाहरू बन्द

blog

हेटौँडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि तयारी गरिँदै । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, फागुन १ गते । हेटौँडा उपमहानगरपालिका कार्यालय र मातहतका कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा आज बिहीबारका लागि बन्द गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकालाई फागुन १ गते बिहीबार बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम आयोजना गरेकोले कार्यालयले प्रदान गर्दै आएको सेवा प्रवाह सुचारु नहुने हेटौँडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

बिहीबार हेटौँडा उपमहानगरपालिकासँगै उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरूबाट नियमित प्रवाह हुने सेवा र शैक्षिक संस्थाहरूको पठन पाठन समेत बन्द गरिएको हो । 

हेटौँडा उपमहानगरपालिका, उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरूमा कार्यरत सबै कर्मचारीहरू हेटौँडा–५, क्याम्पाडाँडास्थित चौरमा हुने बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम सहभागी हुने भएकोले उक्त निकायहरूबाट नियमित प्रवाह हुने सेवा र शैक्षिक संस्थाको पठन पाठन समेत सुचारु नहुने उपमहानगरपालिकाले सूचना प्रकाशित गर्दै जनाएको छ । 

हेटौँडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा बिहीबार गरिँदै छ । 

हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा अभियान अन्तर्गत नगरका १९ वडामध्ये सबैभन्दा पहिले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ लाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएकोमा पछिल्लो पटक हेटौँडा उपमहानगरपालिका वडा नं. १४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेसँगै हेटौँडा उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न लागिएको हो ।

घोषणा कार्यक्रम नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । २०७९ साल भदौ २४ गते हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो ।