• १ फागुन २०८१, बिहिबार

मौसम सन्देशमा स्थानीय रेडियो

blog

टाढा भएका आफन्त वा साथीभाइ जोसँग फोनमा वा अनलाइनमा कुराकानी सुरु गर्दा सबैभन्दा पहिले सन्चै छ भनेर सुरु गरिन्छ, त्यसपछि प्रायः बसेको ठाउँमा जाडो छ ? गर्मी छ ? पानी परेको छ ? जस्ता समय अनुसारको मौसमको अवस्था सोधेर मूल विषयमा प्रवेश गर्ने बानी हुन्छ वा व्यक्ति र परिवारको सन्चो बिसन्चोपछि मौसमको सन्चो बिसन्चो सोधिन्छ । हेलो के छ भनेको जस्तै मौसम कस्तो छ भन्ने थाहा दिने कार्यक्रम हेलो मौसम सामुदायिक रेडियोहरूले सुरु गरेका छन् । यो प्रसङ्ग जोड्नुको कारण मौसम र मौसमजन्य घटनाबाट हुने जोखिमको बारेमा सबैलाई सचेत गराउने कार्यक्रम आवश्यक छ भन्ने बोध रेडियोकर्मीलाई हुन थाल्यो भन्ने हो । 

मानिसको जीवनमा मौसमको ठुलो महत्व भएकाले नै मौसमसम्बन्धी सूचनालाई सञ्चार माध्यमले प्राथमिकता दिँदै आएका छन् । म सानै हुँदा रेडियो नेपालले समाचारमा मौसमसम्बन्धी समाचार भनेको र बाहिरको सापेक्षिक आद्रता ९६ प्रतिशत छ भनेको मलाई अहिलेसम्म याद आउँछ । अहिले सापेक्षिक आद्रता निकै घटेको छ, यही आद्रता घट्दै जाँदा जलवायु परिवर्तनको एक कारण बन्न पुगेको छ । यस्ता विषय रेडियोले जानिनजानी उठाउँदै आएका थिए यस वर्ष फेव्रुअरी १३ तारिखमा पर्ने विश्व रेडियो दिवसको मुख्य विषय रेडियो र जलवायु परिवर्तन भएकाले त्यसको सन्दर्भ पारेर यसमा अझै बढी छलफल भरहेको छ । जलवायु, मौसम र मौसमजन्य विपत्मा रेडियोले खेलेको भूमिकाको पनि चर्चापरिचर्चा भइरहेको छ । 

विपत्को बेलामा र विपत्पश्चात्को समयमा रेडियो र सञ्चार माध्यमले नेपालमा धेरै राम्रो भूमिका निर्वाह गर्दै आएका छन् अझ विपत्को जोखिमको बारेमा पूर्वसूचना दिने काममा स्थानीय रेडियोहरूको क्षमता विकासको आवश्यकता देखिन्छ । गत असोजको मुखैमा आएको बाढीले काठमाडौँ उपत्यका आसपासको क्षेत्रमा ठुलो क्षति पु¥याउँदा पनि रेडियोले आवश्यक जनाकारी प्रवाह गर्न ठुलो भूमिका खेले आरीघोप्टे पानि पर्दै छ सचेत रहनु भनेर जानकारी पनि बाँडे । कोभिड–१९ को महाव्याधिको समयमा मानिसलाई चाहिने सही सूचना तथा जानकारी रेडियोले प्रसारण गरेकोले यसप्रतिको विश्वास र आकर्षण बढेको पनि अनुसन्धानले देखाएका छन् । त्यतिबेला स्थानीय भाषा र लबजमा कोरोना महाव्याधिबाट कसरी बच्ने भनेर हात धुने, माक्स प्रयोग गर्ने तरिका मात्रै रेडियोले सिकाएन सुरक्षित क्वारेन्टाइनको बारेमा निरन्तर वकालत गर्ने काम गर्‍यो । 

रेडियोको स्टुडियोबाट टेलिफोनमार्फत पीडित र सरोकारवालालाई सजिलै जोडेर समस्या समाधान गर्ने काम गरेकाले पनि बढी प्रभावकारी देखियो । विद्यालय बन्द हुँदा घरमै बसेर विद्यार्थीले रेडियोमार्फत दूर शिक्षा आर्जन गर्न पाए । २०७२ सालको विनाशकारी भूकम्प, तीन वर्षअघिको तराईको डुबानमा र कोरोनाले निम्त्याएको सङ्कटमा नेपाली सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेका छन् । अझ जलवायु परिवर्तन र मौसमजन्य विपत्को पूर्वजानकारी र सचेतना अपनाउने कार्यमा समुदायमा रहेका रेडियोले ठुलो भूमिका खेल्न सक्छन् । 

मौसमी चरहरू तापक्रम, आद्र्रता, वायुमण्डलीय चाप, हावा, र वर्षा आदिको लामो समयको अनुपातबाट जलवायु परिवर्तनको अवस्था पत्ता लाग्ने भएपछि मौसममा सञ्चार माध्यमले प्राथमिकता दिनै पर्छ । मौसम र जीवनको अटुट सम्बन्ध हुन्छ र घटना दुर्घटनाको कारक पनि मौसम हुन्छ यो कुरा श्रोतालाई बुझाउनु पर्छ । 

पहिलेको भन्दा रेडियोका श्रोता घट्दै गए पनि रेडियोले विश्वास भने कमाइरहेको छ । सेयरकास्ट इनिसिएटीभको पछिल्लो सर्भेले सबैभन्दा विश्वासिलो र भरपर्दो सञ्चार माध्ययम रेडियो नै भएको देखाएको छ । रेडियोले मानिसको आवाजसहित जे छ त्यही कुरालाई प्रसारण गर्ने भएकाले विश्वास जितेको रेडियोकर्मी बताउँछन् । रेडियोप्रति विश्वास बढ्नुको प्रमुख कारण भनेको हरेक विपत्मा रेडियो सूचना निरन्तर दिने साथीका रूपमा रहँदै आउनु हो । तीन वर्षअघि असार १ गते मेलम्ची र इन्द्रावती खोलामा लेदोसहितको बाढी आउँदै छ, सुरक्षित स्थानमा जानुहोस् भनेर मेलम्ची रेडियोले प्रसारण गरिरहेको थियो, रेडियो सुनेर सबै जना सुरक्षित स्थानमा गए भवन र सामान जोगाउन नसके पनि धेरैको ज्यान जोगियो । 

सबैको ज्यान जोगाउने सूचना प्रसारण गरिरहेको रेडियोको भवन आफैँ डुबानमा परेको समयसम्म रेडियोले प्रसारण गरिरहेको थियो । सिन्धुपाल्चोककै जुरेको पहिरोमा पनि रेडियोले सूचना दिएर धेरैको ज्यान जोगाएको थियो । यस्ता धेरै घटना छन्, जसमा रेडियोले खेलेको भूमिकाले रेडियोको आवश्यकता बढाएको छ । इन्डोनेसियामा बस्ती भएका सात सयभन्दा बढी सामुद्रिक टापुमा सामुदायिक रेडियोहरू छन् ती धेरै जसो रेडियोले सामुद्रिक आधी र विपत्तिहरूमा तत्काल सूचना तथा जानकारी बाँडेर ठुलो भूमिका खेल्ने गरेका छन् । नेपालका रेडियोहरूले पनि त्यहाँबाट धेरै कुरा सिक्न सक्छन् ।

सञ्चार मन्त्रालयका अनुसार अहिले देशभरि ७१६ भन्दा बढी रेडियोले इजाजत लिएका छन् । रेडियो नेपालको एफएमहरूको अलावा स्थानीय सरकारले सञ्चालन गरेका एफएम रेडियोहरू २५ भन्दा बढी छन्, व्यावसायिक रेडियो तीन सयको हाराहारीमा छन् भने ३८५ भन्दा बढी सामुदायिक रेडियो छन् ।

देशभरि सञ्चालनमा रहेका रेडियोहरूमा करिब तीन हजार रेडियोकर्मी संलग्न छन् । कोही उत्पादन प्रसारण, कोही व्यवस्थापन त कोही प्रविधिमा काम गरिरहेका छन् । पूर्णकालीन र आंशिकको हिसाब गर्ने हो भने प्रायः सबै स्थानीय तहमा रेडियोकर्मी छन् । विपत्का बेलामा समुदायलाई सूचना दिएर साथ दिने रेडियोहरू अहिले आर्थिक अभावमा आफैँ बच्ने कि मर्ने भन्ने विपत्मा छन् उनीहरूलाई बचाउन सबैले साथ र सहयोग दिन आवश्यक छ । रेडियोकर्मीले पनि बदलिँदो प्रविधिलाई आत्मसात् गर्दै मल्टिमिडिया तर्फ आफ्नो रेडियो र रेडियोकर्मीलाई रूपान्तरण गर्नु पर्छ । पछिल्लो समय सामाजिक सञ्जाल र नयाँ मिडियामा भ्रमपूर्ण र गलत सूचनाको बाढी आइरहेकाले रेडियो जस्तो भरपर्दो सञ्चार माध्यमलाई बचाउनु पर्छ । विपत्को क्षति न्यूनीकरण र सामाजिक रूपान्तरणमा भूमिका खेल्न सक्ने रेडियोहरूको रूपान्तरण र क्षमता विकासमा सबै सरोकारवालाले सहयोग गर्नु पर्छ । 

स्थानीय तहले अहिले सञ्चालनमा रहेका एफएम रेडियोहरूलाई केही आर्थिक सहयोग गरेर विकास निर्माणको साझेदार र विकासको मूल्याङ्कन र अनुगमन गर्ने पहरेदारका रूपमा उपयोग गर्न सक्नु पर्छ । त्यस्तै, स्थानीय सरकारले बनेका नयाँ ऐन कानुन र नियमावलीको प्रचारप्रसार रेडियोमार्फत गर्नु पर्छ साथै रेडियोमार्फत स्थानीय तहले गरेको कामको प्रतिक्रिया र सुझाव सङ्कलन गर्न सक्छ ।