• १ फागुन २०८१, बिहिबार

मन्थली नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

उपाधि विजेता उपाधि मन्थली नगरपालिकाका खेलाडी ।

रामेछाप, माघ ३० गते । १२औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न भएको प्रतियोगितामा मन्थली नगरपालिकाले २२ स्वर्णपदक सहित शिल्ड चुमेको हो । 

मन्थली नगरपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा गत सोमबारदेखि सञ्चालित प्रतियोगितामा २२ स्वर्ण, २३ रजत र ३२ कांस्य गरी ७७ पदक जित्दै मन्थली नगरपालिका पहिलो भयो । 

प्रतियोगितामा २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदक हात पार्दै उमाकुण्ड गाउँपालिका दोस्रो बन्यो । त्यसैगरी ८ स्वर्ण ६ रजत र १२ कांस्य सहित २६ पदक जित्दै लिखुतामाकोशी गाउँपालिका तेस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

त्यसैगरी ६ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कुल ३३ वटा पदक जित्दै दोरम्बा शैलुङ गाउँपालिका सान्त्वना भएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो । प्रतियोगितामा ५ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कुल ३२ पदक जित्दै रामेछाप नगरपालिका पाँचौँ बनेको छ । 

प्रतियोगितामा पहिलो हुने मन्थली नगरपालिकाले नगद ३० हजार, दोस्रो उमाकुण्ड गाउँपालिकाले २० हजार र तेस्रो हुने लिखुतामाकोशी गाउँपालिकाले १० हजार नगद पुरस्कार पनि पाएका छन् । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६६ वटा स्वर्ण सहित रजत र कांस्य पदकका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते जस्ता खेलहरू भएका थिए । आयोजकका अनुसार प्रतियोगितामा रामेछापका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७३९ जना खेलाडीले सहभागी  भएका थिए । 

गत वर्ष उमाकुण्ड गाउँपालिकामा सम्पन्न भएको ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि मन्थली नगरपालिकाले नै जितेको थियो । उक्त प्रतियोगितामा पनि उमाकुण्ड गाउँपालिका दोस्रो नै बनेको थियो ।