• १ फागुन २०८१, बिहिबार

‘फोर नेसन्स कप’ खेल्न नेपाल आउनुभयो एन्जिला

blog

एन्जिलाई स्वागत गरिँदै । तस्बिर : एन्फा

काठमाडौँ, माघ ३० गते । फागुन ४ देखि १५ गतेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा हुने ‘फोर नेसन्स कप’ खेल्न राष्ट्रिय महिला टोलीकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल आउनुभएको छ ।

व्यावसायिक फुटबल खेल्नका लागि ग्रिसमा रहनुभएकी एन्जिला बुधबार दिउँसो काठमाडौँ आइपुग्नुभएको हो । एन्जिलालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । एन्जिला अहिले निस अट्रोमिटौले ग्रिक महिला ‘ए’ डिभिजन खेलिरहनुभएको छ । 

एन्फाको आयोजनामा फागुन ४ गतेदेखि नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानसम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तालिका अनुसार नेपालले पहिलो खेल फागुन ५ गते किर्गिस्तानसँग खेल्नेछ ।

नेपालको  दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ । लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । 

यस्तै व्यावसायिक फुटबल खेल्न विदेशमा रहनुभएकी राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेल दुबईबाट शनिबार र सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सबाट फागुन ५ गते स्वदेश आइपुग्ने एन्फाले जनाएको छ।