• २ असार २०८२, सोमबार

फोहोर नउठ्दा दुगन्धित बन्दै पोखरा

blog

पोखरा–९, नयाँ बजारको सडक किनारमा थुप्रिएको फोहोर। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २७ गते। पोखरा महानगरले वडा नम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्दै आएकोमा सम्झौता अवधि सकिएपछि स्थानीयले फोहोर व्यवस्थापन गर्न रोकेका हुन्। स्थानीयको अवरोधपछि तीन दिनदेखि फोहोर उठ्न सकेको छैन।

महानगरको फोहोर नउठ्दा मुख्य सडक र बस्तीका खाली ठाउँमा फोहोर थुप्रिन र दुर्गन्ध फैलिन थालेको छ। महानगरका सरसफाइ महाशाखा प्रमुख बलराम पाठकले बिहीबारबाट सम्झौता सकिएपछि शुक्रबारबाट स्थानीयले फोहोर व्यवस्थापन गर्न रोकेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “शनिबार सहरका मुख्य भागको फोहोर उठाएर गाडीमा राखियो, व्यवस्थापन गर्न पाइएन। आइतबार फोहोर उठेन।” पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयसँग छलफल गरी फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्ने प्रयास गरे पनि सहमति नजुटेको सुनाउनुभयो। महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले स्थानीयसँग वार्ता भइरहेको जनाउँदै चाँडै समस्याको समाधान निस्कने उल्लेख गर्नुभयो। 

पटक पटक फोहोरमैला प्रभावित क्षेत्रमा सरसफाइ, विकास निर्माणबारे गर्नुपर्ने काममा प्रतिवद्धता जनाएर पनि काम नहुँदा समस्या आएको वडाध्यक्ष कार्कीको भनाइ छ। “प्रतिवद्धता पूरा नहुँदा अब महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग वार्ता गरी कार्यान्वयनको ग्यारेन्टी नहुँदासम्म फोहोर ल्याउन नदिने स्थानीयको अडान छ,” उहाँले भन्नुभयो।

पोखरा ३२ का राजनीतिक दलहरु पनि त्यहाँ फोहोर विसर्जन गर्न दिने पक्षमा छैनन्। वडाका राजनीतिक दलहरुको शुक्रबार बसेको सर्वदलीय बैठकले अहिलेकै अवस्थामा फोहोर वडामा विसर्जन गर्न नदिने निर्णय गरेको छ। 

स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएकोमा बारम्बार समस्या आउने गरेको छ। पोखरामा दैनिक एक सय टन जति फोहोर संकलन हुन्छ। महानगरले २०२३ जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो। 

पोखरा १४, बाच्छेबुडुवाको ल्याडफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बन्द गर्नुपरेपछि महानगरले वैकल्पिक व्यवस्था खोजेको थियो। पोखरा महानगरले वडा नम्बर ३३ को पुँडिटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याडफिल साइट बनाउन निर्णय गरिसकेको छ। ल्याडफिल साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउने योजना भए पनि त्यो अघि बढ्न सकेको छैन। सार्वजनिक निजी साझेदारी (सानिसा) मोडेलमा प्रशोधन केन्द्र बनाउने योजना भए पनि जग्गा प्राप्ति नहुँदा काम रोकिएको छ।