इमान सिं राना
रामपुर (पाल्पा), माघ २६ गते । पाल्पामा भएको रामपुर महोत्सव कप क्लबस्तरीय भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले २५–२१, २५–१२, २५–२२ को जित निकालेको थियो । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रतियोगितामा नेपाल त्रिभुवन आर्मी क्लबले तेस्रो भयो ।
प्रतियोगिताको विजेता मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमश: दुई लाख २२ हजार २२२ रुपियाँ, एक लाख ५५ हजार ५५५ रुपियाँ, एक लाख एक हजार १११ रुपियाँ र ५५ हजार ५५५ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजयी समूहलाई लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, रामपुर नगर प्रमुख रमणबहादुर थापा, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगितामा विभागिय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लबको सहभागीता रहेको थियो ।