गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले कार्यान्वयन गर्नै नसकिने योजना बनाउनुभन्दा कार्यान्वयन गर्न सकिने मात्र योजना बनाएर विकास निर्माणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल मूल्याङ्कन समाज र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संयुक्त आयोजनामा शनिबारदेखि सुरुभएको आदिवासी जनजाति पत्रकारका लागि मूल्याङ्कनसम्बन्धि तालिमको उदघाटनसत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारले योजना आयोगमार्फत धेरै आयोजना बनाउने तर कार्यान्वयन गर्न नसक्दा देशमा ठोस विकास हुन नसकेको अनुभव सुनाउँदै उपाध्यक्ष अधिकारीले भन्नुभयो, “हाम्रो कार्यशैली फरक छ, धेरै आयोजना बनाउने तर त्यसको कार्यान्वयन नगर्ने । हामीले कम आयोजना बनाएर त्यसको कार्यान्वयन गर्नेगरी आयोजना डिजाइन गर्न सक्नुपर्छ । त्यसो गर्न सक्यौं भने विकास देखिन्छ ।”
विकासका लागि ऋण लिनु गलत नभएको तर त्यसको उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कमजोरी भएको चर्चा गर्नुहुँदै उपाध्यक्ष अधिकारीले भन्नुभयो, “जन्मेदेखि ऋणको भारी बोक्यो भन्नेजस्तो गलत भास्य निर्माण गरिएको देखिन्छ, त्यो राम्रो होइन । विकासका लागि ऋण लिनु राम्रो हो, तर त्यो पैसा उत्पादनमा सदुपयोग गर्न सक्नुपर्छ । रकम दुरुपयोग गर्नु हुँदैन ।”
मिडियाको भूमिका विकास निर्माण र एजेण्डा सेटमा महत्त्वपूर्ण रहने हुनाले सकारात्मक सन्देश प्रवाह गरेमा विकासमा टेवा पुग्ने उहाँको सुझाव छ । हरेक चिज नकारात्मक रूपले समाचार प्रस्तुत गर्दा जनतामा पनि नकारात्मक भास्य खडा हुने हुनाले मिडिया क्षेत्र पनि विकास निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल मूल्याङ्कन समाजका अध्यक्ष डा. भुवन बज्राचार्यले मूल्याङ्कन मानिसको जीवनमा हरेक कदममा आवश्यक रहेको बताउनुभयो । काम गर्दा हामी मूल्याङ्कन गरेर मात्र गर्ने गर्छौं, जति राम्रो मूल्याङ्कन गरी योजना बनाउँछौं, त्यति राम्रो परिणाम आउँछ उहाँले भन्नुभयो । विकास निर्माणमा मिडियाको भूमिका महत्त्वपूर्ण रहने भएकाले आदिवासी जनजाति पत्रकारसँग सहकार्यका लागि कार्यक्रमको आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष गजुरधन राईले मिडियाको लक्ष्य मुलुकमा सुशासन कायम गरी विकास निर्माणमा योगदान दिने भएकाले पहिले मिडियाकर्मीलाई सशक्तीकरण गर्न आवश्यक रहेको बताउनुभयो । सबैबिच एकता र सहकार्य हुन सकेमात्र विकास निर्माणमा हातेमालो सम्भव भएको भन्दै उहाँले मिडियाको तर्फबाट फोनिज विकास अभियानमा सहकार्य गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शनिबार र आइतबार दुई दिनसम्म चल्ने तालिम प्रशिक्षण कार्यक्रममा देशभरबाट २५ जना आदिवासी जनजाति पत्रकारको सहभागिता रहेको छ । फोनिज सचिवालयका पदाधिकारी, फोनिजका प्रदेश अध्यक्षहरूको कार्यक्रममा सहभागिता रहेको छ । कार्यक्रममा डा. गंगादत्त अवस्थी, डा. विजयकुमार सिंह, प्रकाश पन्थ, रमेश पौड्याल, गजुरधन राईको प्रस्तुति रहने आयोजक पदाधिकारीहरूको भनाइ छ ।